---Advertisement---

मनसुनमा जाग्ने ढोरपाटन : सिकार पर्यटनबाट दिगो पर्यटनतर्फको यात्रामा

On: June 27, 2026 10:06 PM
Follow Us:

मनसुन सुरु भएसँगै देशका अधिकांश पर्यटकीय गन्तव्यको चहलपहल घट्न थाल्छ । वर्षायामलाई पर्यटनको ‘अफसिजन’ मान्ने धारणा अझै पनि बलियो छ तर बागलुङको ढोरपाटनमा भने यही मौसम पर्यटकीय गतिविधिको अर्को याम प्रारम्भ हुन्छ । 

हरियालीले ढाकिएका विशाल पाटन, कुहिरोले छोपिएका बुकी, रङ्गीचङ्गी भुइँफूल र गोठसम्म पुग्ने पदमार्गले मनसुनमा पदयात्राको छुट्टै आकर्षण सिर्जना गरेका छन् । अन्य गन्तव्यमा पर्यटकको चहलपहल घटिरहेका बेला ढोरपाटनमा भने प्रकृतिसँग रमाउन आउने पदयात्रीको आगमन बढ्न थालेको छ ।

ढोरपाटनको चर्चा अहिले मनसुनी पदयात्रामा मात्र सीमित छैन । दशकौँदेखि सिकार पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा परिचित यो हिमाली उपत्यकालाई अब प्रकृति, पदयात्रा, जैविक विविधता, संस्कृति र स्थानीय समुदायमा आधारित दिगो पर्यटनको गन्तव्यका रूपमा विकास गर्नुपर्ने बहस बलियो बन्दै गएको छ । 

यही बहसलाई केन्द्रमा राखेर हालै आयोजित ‘ढोरपाटन समिट’मा नीति निर्माता, पर्यटन व्यवसायी, संरक्षणकर्मी र स्थानीय समुदायका प्रतिनिधिले ढोरपाटनको पर्यटनको भावी दिशाबारे गम्भीर छलफल गरे ।

बहसको साझा निष्कर्ष थियो-ढोरपाटनको भविष्य केवल सिकार पर्यटनमा सीमित रहनु हुँदैन । यसको मौलिक प्राकृतिक सम्पदा, सांस्कृतिक विशेषता र समुदायमा आधारित पर्यटनलाई केन्द्रमा राखेर दीर्घकालीन विकासको मार्ग तय गर्नुपर्ने आवश्यकता सबै वक्ताले औँल्याए ।

ट्रेकिङ एजेन्टस् एसोसिएसन अफ नेपाल ९टान० गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले ढोरपाटन नेपालको सबैभन्दा सम्भावनायुक्त तर अपेक्षाकृत उपेक्षित पर्यटन गन्तव्यमध्ये एक भएको दुखेसो गर्नुभयोे । राज्यको  ध्यान नपुग्दा यहाँका मनोरमस्थल ओझेलमा परेका उहाँको भनाइ थियो ।

अन्नपूर्ण चक्रीय पदमार्गलगायत कतिपय स्थापित पदमार्ग सडक विस्तारसँगै छोटिँदै र प्रभावित हुँदै गएका छन्। त्यसको विकल्पका रूपमा ढोरपाटनलाई विकास गर्न सकिने उहाँले बताउनुभयो ।  विश्वको आठौँ अग्लो हिमाल धवलागिरिको नजिकका  म्याग्दीको मुना, गुर्जा, जलजला, ढोरपाटन डोल्पासम्म जोडिने व्यवस्थित पदमार्ग निर्माण गर्न सके देश–विदेशका पदयात्री आकर्षित गर्न सकिने उहाँको ठम्म्याइ छ ।

“ढोरपाटनजस्ता पर्याप्त प्रचार नपाएका गन्तव्यको पहिचान र विकासमा सबै पक्षको ध्यान जान जरुरी छ,” उहाँले भन्नुभयो, “गुणस्तरीय पर्यटनका लागि पूर्वाधार, सेवासुविधा, सुरक्षा र आतिथि संस्कारको समानान्तर विकास अपरिहार्य छ ।” स्थानीयले पर्यटनबाट प्रत्यक्ष आम्दानी र रोजगारीको अवसर प्राप्त नगरेसम्म पर्यटन दीर्घकालीन रूपमा टिकाउ नहुने उहाँले बताउनुभयो ।

“पर्यटक आउनु मात्रै पर्याप्त हुँदैन,” उहाँले भन्नुभयो, “पर्यटनबाट स्थानीयको जीवनस्तरमा सकारात्मक परिवर्तन हुनुपर्छ । स्थानीय समुदाय लाभान्वित भए मात्र पर्यटन दिगो बन्छ।”

ढोरपाटनको पहिचान लामो समयदेखि सिकार पर्यटनसँग जोडिएको छ । विदेशी पेशेवर सिकारीले नाउर र झारलको वैधानिक सिकार खेल्ने एकमात्र गन्तव्यका रूपमा यसले अन्तरराष्ट्रिय परिचय बनाएको छ ।  पर्यटन क्षेत्रका जानकारहरू अब यही परिचयमा सीमित रहन नहुने धारणा राख्छन् । उनीहरू ढोरपाटनको सबैभन्दा ठूलो शक्ति यसको अनुपम प्राकृतिक सौन्दर्य, जैविक विविधता, पदयात्रा, मौलिक संस्कृति र स्थानीय जीवनशैलीमा निहित छ ।

पत्रकार अमृत भादगाउँले ढोरपाटनको पर्यटन विकासलाई सिकार गतिविधिभन्दा धेरै फराकिलो दृष्टिकोणबाट हेर्नुपर्ने बताउनुभयो। उहाँका अनुसार विश्वव्यापी रूपमा पशु कल्याण र जैविक विविधताको संरक्षणप्रति चासो बढिरहेका बेला ढोरपाटनले पनि आफ्नो दीर्घकालीन पर्यटन रणनीतिबारे पुनर्विचार गर्न आवश्यक छ।

“विश्वका विभिन्न देशमा पशु कल्याणको बहस बढिरहेको छ । वन्यजन्तुमाथि हुने हिंसाप्रति संवेदनशीलता पनि विस्तार हुँदै गएको छ,” उहाँले भन्नुभयो, “ढोरपाटनमा वैधानिक सिकार अहिले भइरहे पनि भविष्यमा यही पर्यटनको मुख्य आधार रहिरहन्छ भन्ने निश्चित छैन । त्यसैले पर्यटकलाई वन्यजन्तु सिकार गर्न होइन, तिनलाई प्राकृतिक वासस्थानमै अवलोकन गर्न आकर्षित गर्नुपर्छ।”

प्रकृति, संस्कृति, पर्यावरण र जैविक विविधताको समन्वय नै ढोरपाटनको वास्तविक पर्यटन सम्पत्ति हो। प्राकृतिक स्रोतको संरक्षण गर्दै पर्यटन विकास गर्ने रणनीतिले मात्र यस क्षेत्रलाई दीर्घकालीन रूपमा लाभ पुग्ने उहाँको भनाइ छ ।

पर्यटकको बसाइ अवधि लम्ब्याउने कार्यक्रम, नयाँ पदमार्ग, प्रकृतिमा आधारित गतिविधि र स्थानीय संस्कृतिसँग जोडिएका अनुभव विकास गर्न सके ढोरपाटनको आर्थिक लाभसमेत उल्लेखनीय रूपमा बढ्न सक्ने पत्रकार भादगाउँले बताउनुहुन्छ ।

एकल पदयात्री सिर्जना सिज्जुले पनि ढोरपाटनको मौलिकता नै यसको सबैभन्दा ठूलो शक्ति भएको बताउनुभयो। उहाँका अनुसार नेपालको अन्य कुनै पनि गन्तव्यसँग तुलना गर्न नसकिने भू–बनोट, खुला पाटन र प्राकृतिक परिदृश्यले ढोरपाटनलाई विशिष्ट बनाएको छ। “ढोरपाटनजस्तो भू–बनोट नेपालमा अन्त कतै भेटिँदैन,” उहाँले भन्नुभयो, “त्यसैले यहाँ विकास र संरक्षणबीचको सन्तुलन कायम राख्नु सबैभन्दा ठूलो चुनौती हो।”

ढोरपाटनलाई योग, ध्यान, प्रकृतिमा आधारित विश्राम (नेचर रिट्रिट) तथा आध्यात्मिक पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न सकिने उहाँ बताउनुहुन्छ । बढ्दो भीडभन्दा गुणस्तरीय र वातावरणमैत्री पर्यटनमा जोड दिनुपर्ने उहाँको सुझाव थियो ।

ढोरपाटन उपत्यकामा प्रस्तावित उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाप्रति पनि उहाँले चासो व्यक्त गर्नुभयो। आयोजना निर्माण गर्दा यस क्षेत्रको प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनामाथि पर्ने प्रभावलाई गम्भीर रूपमा मूल्याङ्कन गर्नुपर्ने उहाँको भनाइ थियो ।

“मानवनिर्मित संरचनाले केही समय आकर्षित गर्न सक्छ,” उहाँले भन्नुभयो, “तर प्रकृति, संस्कृति र स्थानीय आतिथ्यले पर्यटकलाई पटक–पटक फर्काएर ल्याउँछ । विद्युत् उत्पादनका विकल्प खोज्न सकिएला, तर ढोरपाटनजस्तो प्राकृतिक उपत्यका एकपटक बिग्रिएपछि फेरि निर्माण गर्न सकिँदैन ।”

उहाँले ढोरपाटन उपत्यकालाई आधार शिविर ९बेस क्याम्प० का रूपमा विकास गरी आसपासका पदमार्गसँग जोड्नुपर्ने सुझाव दिनुभयो। मनसुनमा फक्रिने भुइँफूल र विशाल हरिया पाटनका कारण ढोरपाटनलाई ‘फूलहरूको उपत्यका’का रूपमा समेत अन्तरराष्ट्रिय बजारमा प्रवर्धन गर्न सकिने उहाँको भनाइ छ ।

पर्यटन विकासको यो सम्भावना उपयोग गर्न स्थानीय समुदायमा पर्यटनसम्बन्धी सचेतना, दक्ष जनशक्ति र आवश्यक पूर्वाधारको विकास अपरिहार्य रहेको उहाँले औँल्याउनुभयो । 

ढोरपाटनको पर्यटन सम्भावनाबारे बहस चलिरहँदा यस क्षेत्रको वर्तमान अवस्था पनि उत्साहजनक देखिन थालेको छ । पछिल्ला वर्षमा विशेष गरी आन्तरिक पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको छ । सडक पहुँचमा सुधार, होटल तथा घरबास (होमस्टे) को विस्तार र मनसुन पदयात्राप्रतिको बढ्दो आकर्षणले ढोरपाटनको पर्यटन गतिविधिलाई नयाँ गति दिएको छ ।

ढोरपाटन सिकार आरक्षका रेञ्जर सागर सुवेदीका अनुसार सिकार आरक्षले नै ढोरपाटनलाई अन्तरराष्ट्रिय स्तरमा परिचित गराएको हो। विदेशी सिकारीलाई आकर्षित गर्ने नेपालको एकमात्र वैधानिक सिकार क्षेत्र भएकाले यसले राज्यलाई राजस्व आर्जनमा समेत योगदान पुर्‍याउँदै आएको उहाँले बताउनुभयो।

“सिकार पर्यटनबाट राज्यले आर्थिक लाभ लिएको छ,” उहाँले भन्नुभयो, “यसले ढोरपाटनलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउन पनि महत्त्वपूर्ण भूमिका खेलेको छ । तर पछिल्ला वर्षमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या पनि उल्लेखनीय रूपमा बढ्दै गएको छ।”

गत वर्ष २५ हजार पर्यटकले ढोरपाटन क्षेत्रको भ्रमण गरेका थिए। तीमध्ये अधिकांश आन्तरिक पर्यटक भएपनि पछिल्ला वर्षमा मनसुनी पदयात्राका लागि आउने विदेशी पदयात्रीको सङ्ख्या पनि क्रमशः बढ्दै गएको छ ।

पर्यटकको बढ्दो आगमनसँगै स्थानीय पर्यटन पूर्वाधार पनि विस्तार हुँदै गएको छ। ढोरपाटन उपत्यकामा अहिले ३९ वटा होटल र घरबास सञ्चालनमा छन् । ती होटल तथा घरबासमा  एक हजार ५०० पाहुनालाई आवासको प्रबन्ध गर्न सकिन्छ ।

आरक्ष कार्यालयले स्थानीय समुदायसँगको सहकार्यलाई संरक्षण व्यवस्थापनको आधार बनाएको छ । वन्यजन्तु र प्राकृतिक सम्पदाको संरक्षणसँगै पर्यटन गतिविधिलाई अघि बढाउने नीति अवलम्बन गरिएको उहाँले बताउनुभयो । “संरक्षण र पर्यटन एकअर्काका प्रतिस्पर्धी होइनन्,” उहाँले भन्नुभयो, “प्राकृतिक सम्पदा जोगियो भने मात्रै पर्यटन पनि दीर्घकालीन रूपमा टिक्न सक्छ।”

पछिल्ला वर्षमा ढोरपाटन पुग्ने सडक क्रमशः स्तरोन्नति हुँदै जाँदा यात्रा सहज बनेको छ । त्यससँगै सुविधायुक्त होटल, रेष्टुराँ र पर्यटकमैत्री सेवाको विस्तारले पनि पर्यटकको बसाइ अवधि बढाउन सहयोग पुगेको स्थानीय पर्यटन व्यवसायीहरू बताउँछन ्।

हाल ढोरपाटनको पर्यटन सङ्क्रमणकालबाट गुज्रिरहेको छ । एकातिर सिकार पर्यटनले दिएको अन्तरराष्ट्रिय पहिचान छ भने अर्कोतिर प्रकृति, पदयात्रा र समुदायमा आधारित नयाँ पर्यटन सम्भावना विस्तार हुँदै गएको छ । यही परिवर्तनलाई कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्न नै ढोरपाटनको भविष्यसँग जोडिएको छ । रासस

Leave a Comment