संघीय सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री डा महावीर पुनले पश्चिम म्याग्दीको लाइफलाइन मानिने बेनी–दरबाङ–ताकम–मुना–जलजला सडक अन्तर्गत फापरखेत पहिरो एकबर्ष भित्र समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ । मन्त्री भएपछि पहिलोपटक शनिबार विहान गृह जिल्ला आउनुभएका मन्त्री पुनले करिब दुई दशकदेखि बर्खाको समयमा बाढीले बन्द हुने सडकको अवलोकनपछि अब पहिरोल नै दुख पाउने बताउनुभयो । मन्त्री पुनले एकवर्ष भित्रमा पहिरो नियन्त्रण गरी नियमित रुपमा सडक सञ्चालनमा ल्याउने प्रतिबद्धता अनुसार काम गर्ने बताउनुभयो ।

सडक तथा पहिरोस्थलमा प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यसहित सुरक्षा निकायका प्रमुख तथा पूर्वाधार विकास कार्यालय म्याग्दीका सब–इन्जिनियर रविन चोखालसहित प्रतिनिधि र सर्वसाधारणहरु सहित पहिरो अवलोकन गर्न पुग्नुभएका मन्त्री पुनले पहिरो पन्छाउने उपकरणको व्यवस्था गरेर नियमित रुपमा सडक सञ्चालनमा ल्याउन निर्देशन समेत दिनुभयो। पहिरोले सडक अवरुद्ध हुँदा धेरै सर्वसाधारणहरुले दुःख पाइरहेको भनेर फोन आएपछि फुर्सद निकालेर पहिरो अवलोकन गर्न आफ्नै खर्चमा आएको बताउनुभयो ।

चालु आर्थिक वर्षमा पहिरो नियन्त्रणका लागि संघीय सरकारबाट चार करोडको बजेट पनि व्यवस्थापन भएको छ भने पहिरोका कारण सडक बन्द हुँदा जिल्लाको मंगला, मालिका र धवलागिरीका सर्वसाधारणहरु आवतजावतमा सास्ती खेप्नुपरेको छ । सोही अवसरमा बेनी नगरपालिका ४ स्थित सिंगा तातोपानी कुण्डको समेत अवलोकन गर्नुभएको छ । वर्षातका समयमा म्याग्दी नदीमा आउने बाढीका कारण कुण्ड सञ्चालनमा समस्या हुने गरेको र संरक्षणका लागि संघीय सरकारले सहयोग गर्नुपर्ने माग तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले मन्त्री पुनसमक्ष राख्नुभएको थियो ।

भाडाको ट्याक्सी लिएर जिल्लामा आउनुभएका मन्त्री पुनले प्रदेश अस्पताल बेनीको निर्माणधिन अस्पताल भवनको अवलोकन गर्नुहुँदै भवन निर्माण तत्कालन सम्पन्न गरी अस्पताललाई हस्तान्तरण गर्न निर्माण ब्यवसायीलाई निर्देशन दिनुभयो । सोही अवसरमा निर्माणधिन अवस्थामा रहेको भवनको अवलोकनपछि भएको कार्यक्रममा नवनिर्मित भवन सम्पन्न गरी हस्तान्तरण नुहँदा उपचार सेवा प्रभावित भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डेकबहादुर बानियाँले बताउनुभएको थियो ।
अस्पतालमा दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सक र उपकरणको अभावका कारण उपचार सेवा प्रभावित भएकाले पूर्ण दरबन्दीसहित चिकित्सकलाई खटाउन अनुरोध गर्नुभएको छ । मन्त्री पुनले अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्था र उपकरणका लागि आफूले पहल गर्ने बताउनुभयो । मन्त्री पुनले शनिबार बगुवाखोलाको क्रसर, राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पर्ने बैसरी पहिरोको पनि अवलोकन गर्नुभएको छ। मन्त्री पुन शनिबार नै पोखरा फर्किने कार्यतालिका रहेको छ ।










