म्याग्दीको बेनीमा निर्माणाधीन ५० शय्या क्षमताको प्रादेशिक अस्पताल भवन ठेक्का सम्झौता भएको मितिभन्दा करिब साढे पाँच वर्ष ढिलो सम्पन्न हुने चरणमा पुगेको छ। लामो समयदेखि ठेकेदारको ढिलासुस्ती, निर्माणमा देखिएको लापरबाही र व्यवस्थापकीय कमजोरीका कारण अलपत्र बनेको अस्पताल भवन अहिले हस्तान्तरणको तयारीमा पुगे पनि गुणस्तर र जिम्मेवारीबारे प्रश्न भने कायमै छन्।

शनिबार अस्पताल भवनको अनुगमन गर्न पुग्नुभएका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले निर्माणमा भएको ढिलाइ कुनै एक पक्षको मात्र नभई सबै सरोकारवाला निकायको साझा कमजोरी भएको टिप्पणी गर्नुभएको छ।
अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पुनले संघ, प्रदेश, अस्पताल व्यवस्थापन समिति, निर्माण कम्पनी तथा सम्बन्धित सरकारी निकाय सबैको भूमिकामाथि निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो । “यहाँ धेरैको गल्ती छ। संघको गल्ती छ, प्रदेशको गल्ती छ, व्यवस्थापन समितिको पनि गल्ती छ, ठेकेदारको पनि गल्ती छ,” उहाँले भन्नुभयो, “तर कसको गल्ती कहाँ भयो भन्ने तथ्य हेरेर मात्रै निष्कर्ष निकाल्नुपर्छ।”
उहाँका अनुसार ठेकेदारले काम समयमा नगर्नु गल्ती भए पनि त्यसको कारण पनि खोजिनुपर्छ। यदि ठेकेदारले लापरबाही वा बदनियतका कारण काम ढिलो गरेको हो भने उसलाई जिम्मेवार बनाउनुपर्ने उहाँको भनाइ थियो।
तर समयमा बजेट निकासा नभएका कारण निर्माण प्रभावित भएको हो भने सम्बन्धित सरकारी निकाय पनि उत्तिकै जिम्मेवार हुने उहाँले स्पष्ट पार्नुभयो । “यदि बेलामा पैसा नपाएर काम रोकिएको हो भने त्यो सम्बन्धित विभागको गल्ती हुन्छ। पैसा पनि समयमा पायो र काम पनि गरेन भने ठेकेदार दोषी हुन्छ। पैसा आयो, ठेकेदार पनि थियो तर अनुगमन भएन भने व्यवस्थापन समितिको कमजोरी हुन्छ,” उहाँले भन्नुभयो।











