---Advertisement---

‘अब डायलाइसिस गर्न पालो कुर्नुपर्ने बाध्यताको अन्त्य भयो’

On: July 23, 2026 12:50 PM
Follow Us:

हरिकृष्ण गौतम
म्याग्दीको प्रादेशिक अस्पताल बेनीले मिर्गौलाका बिरामीको डायलाइसिस सेवालाई क्षमता विस्तार सहित थप सहज बनाइएको छ । अस्पतालमा बिरामीको चाप बढेपछि अस्पताल ब्यवस्थापन समितिको पहलमा गण्डकी प्रदेश सरकारको सहयोगमा थप तीन वटा मेसिन जडान गरिएपछि नयाँ बिरामीले पालो कुर्नु पर्ने बाध्यताको अन्त्य भएको छ ।

छ वटा मेसिनबाट तीन सिफ्टमा डायलाइसिस सञ्चालन भइरहेको अवस्थामा प्रदेश जनस्वास्थ्य कार्यालयको भवनाबट अस्पतालको पूरानो स्टोर रहेको भवन मर्मत गरी नयाँ मेसिनबाट सेवा प्रदान गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.हेमन्त बाँस्तोलाले बताउनुभयो ।

‘बिरामीको चाप अनुसार मेसिनको अभाव थियो,,अब नाम दर्ता गरेका बिरामीले तत्कालै सेवा पाउनुहुन्छ’डा. बाँस्तोलाले भन्नुभयो । विगतमा अस्पतालमा डायलाइसिस मेसिनको अभावका कारण नाम दर्ता गरेका बिरामीले बागलुङ, पर्वत र पोखरामा जाने गरेका थिए ।


अस्पतालमा डायलाइसिस सेवा लिनेमा ३७ जना बिरामी रहेका छन् । जसमध्ये हप्ताको तीनपटक पाँच जना रहेकोमा बाँकी बिरामी दुई र एक जनाले एक पटक सेवा लिइरहेका अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष डेकबहादुर बानियाँले बताउनुभयो । ‘नाम टिपाउनुभएका नयाँ बिरामीलाई डायलाइसिसका लागि बोलाइएको छ, भौतिक संरचना अझै रहेकाले आवश्यकता अनुसार मेसिन समेत थप गरिन्छ‘ अध्यक्ष बानियाँले भन्नुभयो ।

डायलाइसिस युनिट कक्षमा नौ वटै डायलाइसिस मेसिनबाट दैनिक बिहान, दिउँसो र साँझ गरी तीनपटक प्रत्येक बिरामीलाई सेवा दिने अध्यक्ष बानियाँको भनाई छ । विगतमा साँधुरो कोठामा सेवा लिनुपर्ने अवस्थामा हाल नयाँ मेसिनसहित संरचनाहरु समेत थप गरी बिरामीमैत्री भवनमा सञ्चालन गरिएको बिरामीका आफन्त मंगला गाउँपालिका–५, तारा क्षत्रीले बताउनुभयो ।


‘डायलाइसिस सेवा बिरामीमैत्री छ, स्वास्थ्यकर्मीले समेत सहज सेवा दिनुहुन्छ, यो कार्यलाई निरन्तरता दिन अनुरोध छ’ क्षत्रीले भन्नुभयो । अस्पतालमा डायलाइसिस सेवाका लागि म्याग्दी, बागलुङ, पर्वतका बिरामी सेवा लिँदै आएका छन् । गण्डकी प्रदेशमा जनसंख्याको आधारमा म्याग्दी धेरै मिर्गौला पीडित भएको जिल्लाको रूपमा समेत चिनिन्छ। हाल १० जनाले बिरामीले पालो कुरेको अवस्था छ । डायलाइसिस गर्नुपर्ने बिरामीलाई सातामा अवस्था हेरेर तीन, दुई र एक पटक गनुपर्छ ।


मिर्गौलाले काम गर्न छोडेको अवस्थामा शरीरमा जम्मा भएको फोहरलाई सफा गर्न डायलाइसिस गरिन्छ। शरीरमा भएका फोहर पदार्थ रगतका माध्यमबाट मिर्गौलामा जाने गरेकोमा मिर्गौलाले त्यसलाई छानेर पिसाबको माध्यमबाट निकाल्ने गरेकोमा मिर्गौलामा समस्या आएमा फोहर छान्न सक्दैन अवस्थामा बिरामीलाई स्वस्थ्य राख्न डायलाइसिस गरिन्छ।विसं २०७७ देखि बेनी अस्पतालमा निःशुल्क डायलाइसिस सेवा सञ्चालन भएको थियो। डायलाइसिस सेवा जिल्लामै उपलब्ध भएपछि सबैभन्दा धेरै राहत विपन्न बिरामीलाई भएको छ ।

Leave a Comment