बागलुङमा पछिल्लो चार वर्षमा सवारी दुर्घटनामा परि ६२ जनाले ज्यान गुमाएका छन् भने १८३ जना घाइते भएका छन् । यो अवधिमा ८९ वटा दुर्घटना भएका छन् । मध्यपहाडी लोकमार्ग, कालीगण्डकी कोरिडोर र सालझण्डी-ढोरपाटन सडक गरि तीन वटा राष्ट्रिय राजमार्गसहित सयौँ शाखा सडक रहेको बागलुङमा हरेक महिना साना तथा ठूला दुर्घटना हुने गरेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख मीनबहादुर कुँवरकाअनुसार आर्थिक वर्ष २०७९/०८० मा २५ वटा दुर्घटनामा १३ जनाको मृत्यु भएको थियो भने ३३ जना घाइते भएका थिए । आर्थिक वर्ष २०८०/०८१ मा १९ दुर्घटनामा १६ जनाको मृत्यु र ७० जना घाइते भएको उहाँले जानकारी दिनुभयाे ।
आर्थिक वर्ष २०८१/०८२ मा २६ वटा दुर्घटना २३ जनाको मृत्यु, ४८ जना घाइते र आर्थिक वर्ष २०८२/०८३ मा १९ दुर्घटनामा १० जनाको मृत्यु, ३२ जना घाइते भएको कुँवरले बताउनुभयाे । सबैभन्दा बढी दुर्घटना ग्रामीण सडकमा भएको उहाँको भनाइ छ । सहरी क्षेत्रमा सडक फराकिलो र व्यस्थित हुँदा कम दुर्घटना हुने गरेको प्रमुख कुँवरले बताउनुभयाे ।
पछिल्लो समय चालकले मादक पदार्थ तथा लागु औषध सेवन गरेर सवारी चलाउँदा दुर्घटना बढी हुने गरेको कुँवरको ठम्याइ छ । दूर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले यात्रु तथा चालकका लागि सचेतना मुलक कार्यक्रम गर्नुका साथै ट्राफिक चेकजाँचमा कडाइ गरिएको उहाँको भनाइ छ ।
“दुर्घटनाको प्रमुख कारण ग्रामीण सडक र चालकको लापरबाही रहेको देखिन्छ, ग्रामीण सडक साँघुरा छन्, त्यसमाथि चालकले क्षमताभन्दा बढी यात्रु र सामान बोक्छन्,” उहाँले भन्नुभयाे – “अर्को कुरा दिउसोमाभन्दा रातिम बढी दुर्घटना भएका छन्, जहाँ ट्राफिक प्रहरीको उपस्थित छैन त्यहाँ बढी दुर्घटना भएको पाएँछौँ, अहिले त अझ कतिपय चालकले दिउसै मापसे र लापसे सेवन गरेर सवारी चलाउँदा दुर्घटना बढी हुने गरेका छन् ।”
बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले बागलुङका विकटसम्म पुगेका सडक न्यून मापदण्डका समेत नहुँदा दुर्घटना बढी हुने गरेको बताउनुभयाे । दुर्घटना न्यूनिकरणका लागि स्थानीय पालिका, ट्राफिक र सबै सरोकारवालासँग समन्वय गरेको उहाँको भनाइ छ । विगतको तुलनामा गत आर्थिक वर्षमा दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या घटेको बराल बताउनुहुन्छ ।
उहाँले भन्नुभयाे – “दूर्घटना न्यूनिकरण गर्न मुख्यत चालक, यात्रुनै सजक हुनुपर्छ, त्योसँगै सडक निर्माण गर्दा न्यूनतम मापदण्डअनुसार बनाउनु पर्छ र चालकले लागु पदार्थ र मादक पदार्थ सेवन नगरि सवारी चलाउने हो भने दुर्घटना न्यनिकरण हुन्छ ।”















