गएको असार तेस्रो साता मुस्ताङको भ्रमणमा जानुभएका संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल‘गनेस’लाई मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लालचनले भारतीय रुपैयाँ (भारु) थुप्रिएको गुनासो गर्नुभयो । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको दर्शनका लागि आउने भारतीय तिर्थालुले होटल, रेष्टुरेन्टसहित पसलमा दिएको भारू सटही नहुदाँ ब्यवसायी मर्कामा परेको भन्दै मन्त्री पौडेल र पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई समस्या समाधानका लागि अनुरोध गरिएको थियो ।
मुस्ताङमा भारतीय सिक्का,भारू १ सय, २ सय भारू नोटहरूलाई नेपाली बैंकले सटहीका लागि आनाकानी गर्ने गरेको र एसबीआई बैंक नेपालले समेत अस्वीकार गर्ने गरेको भन्दै ब्यवसायीको समस्या समाधानका लागि नेपाल सरकारले नै पहल गर्नुपर्ने संघका अध्यक्ष लालचनले बताउनुभयो । अध्यक्ष लालचनले भन्नुभयो,‘‘भारतीय पर्यटकमार्फत भित्रिएको नोट टाउको दुखाइ बनेको छ, भारू बोकेर हिड्दा समेत कानुनी झन्भटको जोखिमले ब्यवसायीले नै राखेका छन् ।’’ मुस्ताङका ब्यवसायीले भारतीय नोटको अनुमानित विवरण समेत मन्त्री पौडेल र लम्साललाई सुनाएका छन् ।
मुस्ताङमा सामान ढुवानी गर्ने सीमा क्षेत्रका ब्यवसायीको ब्यक्तिगत सटहीले केही ब्यवसायीलाई राहत भएपनि सानाठुला होटलमा भारू अस्वभाविक रूपमा बढेको छ । मुस्ताङमा चीनको सीमानमा अवस्थित कोरला नाकासम्म भारू नोट रहेकाले सटहीमा समस्या भए कारोबारमा समेत कडाई गर्न ब्यवसायीले माग गरेका छन् । गत आर्थिक वर्ष २०८२÷०८३ मा २ लाख ९३ हजार ७२ जना विदेशी पर्यटकले भ्रमण गरेकोमा भारतबाट मात्रै एक लाखभन्दा बढी धार्मिक पर्यटक मुस्ताङ भित्रिएको तथ्याङ्कले देखाउँछ ।
मुस्ताङमा व्यापार गर्ने छिमेकी जिल्ला म्याग्दी, बागलुङका ब्यवसायीसँग समेत ३ करोडभन्दा धेरै भारू रहेको धौलागिरी अधिकृत विक्रेता संघका अध्यक्ष राजन श्रेष्ठले बताउनुभयो । अध्यक्ष श्रेष्ठले भारूलाई नेपाल सरकारले कारोबारका लागि मान्यता दिएको अवस्थामा बैंकिङ प्रणालीले सहज रूपमा स्वीकार नगर्दा व्यवसाय नै अस्तब्यस्त भएको बताउनुभयो । नयाँ तथा सफा एकसय भारू नोट स्रोत खुलाएर प्रतिव्यक्ति २५ हजार भारू सम्म मात्र साट्न सकिने व्यवस्था छ ।
लामो समयसम्म सटही नहुदाँ सामान्य च्यातिएको अवस्थामा समेत प्रयोग नहुने भएकाले ब्यवसायीले नेपाल सरकारलाई स्रोत खुलेको भारू नीजि तथा सरकारी बैंकमा सटहीका लागि वातावरण बनाउन नसकेमा आर्थिक समस्या हुने भन्दै ध्यानार्कषण गराएपनि सुनुवाई नभएको गुनासो गरेका छन् । नेपालबाट भारतमा उपचार तथा अन्य विभिन्न कारणले जाने सर्वसाधारणले १० हजार भारू लिएर जाँदा समेत सीमा क्षेत्रमा सुरक्षा निकायबाट सास्ती हुने गुनासो समेत गर्ने गरेका छन् ।














