म्याग्दीका प्रतिनिधिसभा सदस्य एवम् विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले एक मात्र अद्वितीय पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को स्मृतिमा ठोस काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सामाजिक सञ्जालमार्फत मन्त्री पुनले निम्स पुर्जाको सम्मान र स्मृतिमा ठोस काम गर्न आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउँदै ब्रोड पिक हिमपहिरो दुर्घटनामा ज्यान गुमाउने अन्य पर्वतारोहीहरूप्रति पनि श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।
तीन दिनदेखि स्वर्गीय निर्मल पुर्जाले उपहार दिएको हस्ताक्षरसहितको पुस्तक खोज्दै गरेको बताउँदै मन्त्री पुनले प्रतिनिधिसभा निर्वाचनमा विजयी भएको केही दिनपछि निम्स दाइ स्वयं राष्ट्रिय आविष्कार केन्द्रमा आएर “चुनाबमा विजयी भएकोमा बधाई छ दाई” भनेर हस्ताक्षरसहित पुस्तक उपहार दिएको स्मरण समेत गर्नुभएको छ । पुनका अनुसार निम्सले दिएको पुस्तक पढिसकेपछि राष्ट्रिय आविष्कार केन्द्रमै रहेको आफ्नो टेबलमा राखेकोमा त्यसपछि केन्द्रका अन्य सदस्यहरूले पनि पढेका भए पनि हालसम्म पुस्तक कसले लग्यो भन्ने पत्ता नलागेको बताउँदै पुस्तक खोजिरहेको बताउनुभयो ।
केन्द्रका सबै सदस्यसँग सोधपुछ गर्दा पनि पुस्तक कसैले लगेको जानकारी नभएको मन्त्री पुनको भनाई छ । कुनै शुभेच्छुकले पढ्नका लागि लगेको हुन सक्ने अनुमान गर्दै भविष्यमा उक्त पुस्तक भेटिने आशा व्यक्त समेत गर्नुभएको छ । मन्त्री पुनले स्वर्गीय पुर्जाले राष्ट्रिय आविष्कार केन्द्रलाई बेला–बेलामा सहयोगसमेत गर्दै आएको स्मरण गराउनुभएको छ । गत विहिबार हिमपहिरोमा पुरिएपछि आफ्नै जिल्लाका पर्वतारोहीका बारेमा केही नलेखेको भन्दै मन्त्री पुनको सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भएको थियो ।











