विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ सहित अन्यको निधनमा तीन दिनपछि सोमबार श्रद्धाञ्जली दिएका छन्।
मन्त्री पुनले गत ३ दिनदेखि आफूले एउटा किताब खोजिरहेको बताए। उनका अनुसार त्यो किताब निर्मल पुर्जाले राष्ट्रिय आविष्कार केन्द्रमा नै प्रतिनिधि सभाको चुनावको नतिजा आएको केही दिन पछि आएर ‘चुनावमा विजय भएकोमा बधाई छ दाइ’ भन्दै हस्ताक्षर गरेर दिएका थिए।
हस्ताक्षर सहितको किताबको फोटो राखेर उनलाई हार्दिक श्रद्धाञ्जली दिन्छु भनेर सो किताब लागि परेर खोजिरहेको तर भेट्टाउन नसकिएको उनले बताए। सोहीकारण आफूले तीन दिनपछि श्रद्धाञ्जली दिएको उनको भनाइ छ। मन्त्री पुनले निर्मल पुर्जाले पहिले देखि नै राष्ट्रिय आविष्कार केन्द्रलाई बेला बेलामा सहयोग पनि गरेको कुरा पनि स्मरण गरेका छन्। उनले निम्सदाइको सम्मानमा र स्मृतिमा ठोस काम जे गर्न सकिन्छ सो को लागि प्रयास गर्ने विश्वास पनि दिलाएका छन्।
विश्वविख्यात नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित १० जनाको पाकिस्तानको ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक हिमालमा बिहीबार आएको भीषण हिमपहिरोमा परी निधन भएको थियो। बिहीबार आरोहण गर्ने क्रममा करिब ६ हजार ७०० मिटरको उचाइमा हिमपहिरो जाँदा पुर्जासहित १० जना आरोहीहरूको ज्यान गएको थियो।
शनिबार आधिकारिक रूपमा निर्मल पुर्जासहित सबै १० जना आरोहीको मृत्यु भएको पुष्टि भएको थियो। ‘निम्सदाइ’ र मन्त्री पुनको गृहजिल्ला म्याग्दी एउटै हो। त्यसैले लामो समयसम्म किन श्रद्धाञ्जली नदिएको भनेर पुनको आलोचना समेत भइरहेको थियो।
हेर्नुस् उनको फेसबुक स्टाटस
गत तीन दिनदेखि मैले एउटा किताब खोजिरहेको थिएँ। त्यो किताब निर्मल पुर्जा भाइले मलाई राष्ट्रिय आविष्कार केन्द्रमा नै प्रतिनिधि सभाको चुनावको नतिजा आएको केही दिन पछि आएर “चुनावमा विजयी भएकोमा बधाई छ दाइ” भन्दै हस्ताक्षर गरेर दिएका थिए। सो हस्ताक्षर सहितको किताबको फोटो राखेर उनलाई हार्दिक श्रद्धाञ्जली दिन्छु भनेर सो किताब लागि परेर खोजि रहेको थिएँ तर भेटाउन सकिएन।
सो किताब मैले पढेर राष्ट्रिय आविष्कार केन्द्र कै म बस्ने टेबलमा राखेको थिएँ र केन्द्र कै अन्य भाइहरूले पढ्दै पनि थिए। कोही भाइबहिनीहरूले पढ्नको लागि घरमै लगे कि भनेर सबैलाई सोधियो तर लैजाने व्यक्ति भेटिएन। सो किताब कुनै न कुनै दिन भेटिएला भन्ने आशा छ किनभने राष्ट्रिय आविष्कार केन्द्रमा आउने कोही शुभेच्छुकले लगेको पनि हुन सक्छ।
निर्मल पुर्जा भाइले पहिलेदेखि नै राष्ट्रिय आविष्कार केन्द्रलाई बेला बेलामा सहयोग पनि गरेका थिए। उनलाई हार्दिक श्रद्धाञ्जली भन्दै उनको सम्मानमा र स्मृतिमा ठोस काम जे गर्न सकिन्छ सो को लागि प्रयास गर्नेछु। साथै उनीसहित सो दुर्घटनामा ज्यान गुमाउने अन्य पर्वतारोहीहरूलाई पनि हार्दिक श्रद्धाञ्जली छ।🌹🌹🌹🇳🇵🇳🇵🇳🇵













