पाकिस्तानस्थित विश्वको बाह्रौँ सर्वोच्च शिखर ब्रड पिकमा आएको भीषण हिमपहिरोमा परी ज्यान गुमाएका चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’सहित चार जनाको शव आधार शिविर (बेसक्याम्प) मा ल्याइएको छ।
एलिट एक्स्पेडका अनुसार अत्यन्त कठिन र जोखिमपूर्ण स्थितिमा सञ्चालन गरिएको उद्धार अभियान पश्चात् निम्सदाइ, झोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव आधार शिविर ल्याउन सफलता मिलेको हो। उद्धार टोलीको नेतृत्व वरिष्ठ पर्वतारोही मिङ्मा डेभिड शेर्पाले गरेका थिए।
कम्पनीका अनुसार सिरबाज खानसहितको प्राविधिक उद्धार टोलीले उच्च जोखिमका बाबजुद असाधारण साहस, उच्च व्यावसायिकता र समर्पणका साथ यो कठिन कार्य सम्पन्न गरेको हो। जटिल परिस्थितिमा उद्धार कार्यलाई सफल बनाउन अभूतपूर्व सहयोग पुर्याएको भन्दै एलिट एक्स्पेडले पाकिस्तान सेना, पाकिस्तान सरकार, गिलगिट–बाल्टिस्तान सरकार, स्थानीय प्रशासन, बेलायती उच्चायोग, नेपाल दूतावास, अल्पाइन क्लब अफ पाकिस्तान लगायत सम्पूर्ण सहयोगी निकायहरूप्रति विशेष आभार प्रकट गरेको छ।
चारै जना पर्वतारोहीको शव आधार शिविर पुर्याइसकिएकाले अब उनीहरूको पार्थिव शरीरलाई आ-आफ्नो परिवार र मातृभूमिसम्म पुर्याउने कानुनी तथा व्यवस्थापकीय प्रक्रिया तीव्र पारिएको छ।
यसैबिच, सोही दुर्घटनामा अझै बेपत्ता रहेका अन्य तीनजना आरोहीहरूप्रति गहिरो समवेदना प्रकट गर्दै कम्पनीले मौसममा सुधार आउनासाथ र सुरक्षा स्थिति अनुकूल हुनासाथ खोजी तथा उद्धारका बाँकी प्रयासहरू निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।
गत बिहीबार ब्रड पिकको उच्च भागमा आएको भीषण हिमपहिरोमा परी कूल १० जना पर्वतारोही बेपत्ता भएका थिए। घटनामा परेका सबै आरोहीको मृत्यु भइसकेको पुष्टि भइसकेको छ।












