म्याग्दीको सदरमुकाम बेनीबजारमा २० भन्दा बढी बिक्रेताको गोदाममा गरिएको अनुगमनमा प्रसस्तै खाना पकाउने ग्यासको खाली सिलिन्डर थन्किएको भेटियो ।
जिल्ला प्रशासन कार्यालयले बुधबार गरेको अनुगमनमा खुद्रा र होलसेल बिक्रेताको गोदाममा खाली सिलिन्डरहरू अत्याधिक भएपनि करिब ५० वटा भरिएको ग्यास भेटियो । उपभोक्ताको भान्सा बजारमा ग्यासको माग उच्च भएको अवस्थामा एक साताको अवधिमा ठूला ट्रकमा लोड भएर ५ सय ७३ थान ग्यास कम्पनीका भरिएका सिलिन्डरहरू आएको देखिन्छ ।

अनुगमनको क्रममा ब्यापारीले भित्रिएको ग्यास माग अनुसार तत्कालै ग्राहकलाई वितरण गरेको बताउने गरेपनि बजारमा ग्यासको अभाव रहेको प्रयोगकर्ताको गुनासो छ ।
गोदाममा खाली सिलिन्डर मात्र बाँकी देखिएपछि प्रशासनको समन्वयमा सञ्चित ४७ सिलिन्डरलाई घर भाडामा बस्ने, विद्यार्थी, बिरामी, सुत्केरी अति समस्यामा परेकाहरुलाई प्रशासन र उद्योग वाणिज्य संघको पहलमा वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बेनीअनलाइनलाई बताउनुभयो ।

‘अनुगमनको क्रममा भेटिएका ग्यासलाई आफुँखुसी बिक्री गर्न रोक लगाएका छौ,अनुगमनपछि अति समस्या परेका केहीलाई समन्वय गरी उपलब्ध गराएका छौ’ सहायक प्रजिअ आचार्यले भन्नुभयो ।

जिल्ला प्रशासन कार्यालय र म्याग्दी उद्योग वाणिज्य संघले भित्रिएका ग्यासलाई पहिलो चरणमा अति आवश्यक भएकालाई समन्वय गरी वितरण गर्ने निर्णय गरेको छ । बजार तथा ग्रामिण क्षेत्रमा धेरै सिलिन्डर हुनेले सञ्चित गर्ने गरेकाले ग्यास सहज रुपमा नपाउँदा एउटा मात्रै सिलिन्डर भएकाहरूले दुःख पाएको सर्वसाधारणको गुनासो छ ।

घरमा ग्यास भएकाले पनि अभाव हुन्छ भन्दै सञ्चित गर्दा बजार क्षेत्रमा धेरै अभाव देखिएको म्याग्दी उद्योग वाणिज्य संघका सचिव मोतिलाल पौडेलले बताउनुभयो । ‘अति आवश्यक भएकालाई मात्रै उपलब्ध गराए धेरै सहज हुन्छ, देशभर एक्कासी धेरै माग भएकाले पूर्ण रूपमा अभाव टर्न केही दिन लाग्छ’ सचिव पौडेलले भन्नुभयो ।

केही दिन अगाडीसम्म फाट्टफुट्ट पाइएपनि एकसाता यता पोखराबाट समेत आपूर्ती नभएपछि सबैभन्दा धेरै कोठा भाडामा बस्ने,विद्यार्थी र मजदुर मर्कामा परेको देखिन्छ। विद्यार्थीले समेत जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका छन् ।
केही दिनयता बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको धेरै गुनासो आएकाले ग्यासमा केन्द्रित भएर बजार अनुगमन गरेको प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यले बताउनुभयो । ‘कृतिम अभाव गरेको भेटिएमा कडा कारवाही गर्नेछौ, समन्वयसँगै अभावलाई हटाउन पहल भइरहेको छ’ प्रजिअ आचार्यले भन्नुभयो।

जिल्ला प्रशासन कार्यालयले ब्यापारी तथा कम्पनीको डिपोसँग समेत समन्वय गरेकाले अर्को सातासम्म सहज हुने अनुमान गरिएको प्रजिअ आचार्यले बताउनुभयो । म्याग्दीमा शक्ती, गृहलक्ष्मी र नेपाल ग्यास वितरण हुन्छ । ग्यासको अभाव बजारदेखि ग्रामिण क्षेत्रसम्म चुलिएको छ ।















