---Advertisement---

अल्पाइन क्लबले भन्यो–  ‘निम्स दाइ सहितको ५ शव अस्पतालमा, युक्तको शव नेपाल पठाइयो’

On: August 6, 2026 3:08 PM
Follow Us:

पाकिस्तानको ब्रोड पिक हिमालको अत्यन्तै जटिल र जोखिमपूर्ण मानिएको स्थानबाट निम्स दाइ सहितको शव सङ्कलन गरेर अस्पताल पुर्‍याइएको छ । 

पाँच जना आरोहीको शव हेलिकप्टरमार्फत स्कार्दुस्थित सीएमएच अस्पताल पुर्‍याइएको  अल्पाइन क्लब अफ पाकिस्तानले एक विज्ञप्ति जारी गर्दै आधिकारिक जानकारी दिएको हो ।   आरोहीहरू निर्मल पुर्जा (निम्स दाइ)  वाङ जोङ, निमा शेर्पा, ग्यालु शेर्पा र किल्ली पेम्बा ‘किलु’ शेर्पाको शव सङ्कलन गरी अस्पताल पुर्‍याइएको क्लबले  जानकारी गराएको हो ।

क्लबका अनुसार अस्पतालमा आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया र कागजात तयार पारिएपछि यी शवहरूलाई पाकिस्तानको राजधानी इस्लामावाद स्थानान्तरण गरिनेछ ।  ब्रोड पिकमा ज्यान गुमाएका अन्य दुई आरोही नाधिरा अलहार्थी र पुरबहादुर गुरुङ ‘युक्त’ शेर्पाको शव भने आवश्यक प्रक्रिया पूरा गरी गृहदेश पठाइसकिएको क्लबले जनाएको छ । युक्त नेपाली हुन भने नाधिरा ओमानी हुन् । 

उक्त दुर्घटनामा परेका सोहेल साखी र म्यालोरी गाइस अझै बेपत्ता रहेका छन् । त्यस्तै  अर्का नेपाली आरोही नवाङ थिन्डु शेर्पाको शव अत्यन्तै उच्च उचाइ र हिम पहिरोको तीव्र जोखिम रहेको क्षेत्रमा रहेकाले हालको परिस्थितिमा सङ्कलन गर्न नसकिएको अल्पाइन क्लबले स्पष्ट पारेको छ ।

को को थिए शव सङ्कलनमा ?

आफ्नो ज्यानको बाजी थापेर अत्यन्तै जोखिमपूर्ण परिस्थितिमा पनि शव सङ्कलन तथा उद्धार कार्यमा खटिएका मिङ्मा जी, सिरबाज खान, दिपेन गुरुङ, पेम्बा छेवाङ शेर्पालगायत  टोली रहेको थियो ।

Leave a Comment