निम्सदाइ फाउन्डेसनले पाकिस्तानको ब्रोड पिक हिमालको हिमपहिरोमा ज्यान गुमाएका पर्वतीय गाइडहरूको परिवारलाई सहयोग गर्ने उद्देश्यले विशेष राहत कोष स्थापना गरेको घोषणा गरेको छ।
फाउन्डेसनले आफ्ना संस्थापक तथा विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) लाई गुमाउनुपरेको अकल्पनीय शोकका बीच पनि दुर्घटनामा ज्यान गुमाएका अन्य गाइडका परिवारलाई आर्थिक सहारा प्रदान गर्ने उद्देश्यले ‘ब्रोड पिक गाइड्स फेमिली सपोर्ट फन्ड’ स्थापना गरिएको जनाएको हो।
फाउन्डेसनले आफ्नो आधिकारिक इन्स्टाग्राममार्फत हिमाल आरोहणमा खटिने प्रत्येक गाइड र टोलीका सदस्यको पछाडि उनीहरूमाथि आश्रित परिवार रहेको उल्लेख गर्दै ती परिवारहरूले अहिले अकल्पनीय पीडा र हृदयविदारक अवस्थाको सामना गरिरहेको जनाएको छ।
फाउन्डेसनले ठूला पर्वतारोहण दुर्घटनाबाट प्रभावित परिवारलाई सहयोग गर्ने आफ्नो परोपकारी उद्देश्यअनुरूप यस कठिन घडीमा पीडित परिवारको साथमा उभिन विश्वभरका पर्वतारोहण प्रेमी, सहयोगी तथा अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि अपिल गरेको छ।
सन्देशमा निर्मल पुर्जाको मानवीय सोचलाई स्मरण गर्दै भनिएको छ, ‘निर्मल पुर्जा (निम्स दाइ) सधैं विश्वास गर्नुहुन्थ्यो कि पर्वतारोहणको वास्तविक सफलता केवल हिमालको चुचुरोमा पुग्नुमा होइन, यात्राका क्रममा कति मानिसको जीवनलाई सकारात्मक रूपमा स्पर्श गर्न सकियो भन्नेमा निर्भर हुन्छ।’
फाउन्डेसनले निम्स दाइको यही आदर्श, मार्गदर्शन र मानवीय दृष्टिकोणलाई जीवित राख्न शब्दमा मात्र सीमित नभई दया, करुणा र व्यावहारिक सहयोगमार्फत उनको विरासतलाई निरन्तरता दिन सबैलाई आग्रह गरेको छ।













