---Advertisement---

तीन महिनामा म्याग्दीमा १७ विपद्का घटना, एकको मृत्यु, एक बेपत्ता

On: August 6, 2026 9:49 PM
Follow Us:

म्याग्दीमा तीन महिनाको अवधिमा विभिन्न स्थानमा प्राकृतिक विपद्का १७ वटा घटना भएका छन्। वैशाखदेखि साउन १९ गतेसम्म बाढीपहिरो,अविरल वर्षासहित विभिन्न प्राकृतिकजन्य विपद्मा परी एकजनाको ज्यान गएको छ भने एक बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले बैशाख, जेठ महिनामा हावाहुरीका कारण धवलागिरि गाउँपालिका–३ मुनामा एक घरमा क्षति पुगेको, गुर्जास्थित जनकल्याण माध्यमिक विद्यालयको भवनको छाना उडेको तथा अन्नपूर्ण गाउँपालिका–६ घारमा एक घरमा क्षति पुगेको थियो ।


त्यसैगरी जेठ महिनामा मालिका गाउँपालिका–४ छापमा आएको हावाहुरी र वर्षाका कारण तीन परिवारका घरको छाना उडाएको थियो भने साउन महिनामा भने विपद्का घटना उल्लेख्य रूपमा बढेका छन्। यस अवधिमा आगलागी, पहिरो, घर भत्किने, घर जोखिममा पर्ने, ढुङ्गा खस्ने तथा खोलाले बगाउने गरी १३ वटा घटना भएका छन्। पहिरोका कारण बेनी नगरपालिका–३ भकिम्लीमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।


रघुगंगा गाउँपालिकाको एकराते खोलाले एक जना र एक भैंसी बगाउँदा उनी अझै बेपत्ता छन्। सडकमाथिबाट ढुङ्गा खस्दा एक जना घाइते भएका थिए भने पहिरोमा पुरिएका एक महिलाको सकुशल उद्धार गरिएको थियो। प्राकृतिक विपत्तीबाट ग्रामिण क्षेत्रमा कच्ची घर, गोठ, कुखुरा फार्म, विद्यालय, खेतीयोग्य जमिन, खानेपानी तथा सिँचाइका संरचनामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी तिमिल्सिनाले बेनीअनलाइनलाई बताउनुभयो । बाढीपहिरोबाट विस्थापित भएकालाई विभिन्न संघसंस्थाले समेत सहयोग गरेका छन् । जिल्लाका स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, नेपाल रेडक्रस सोसाईटी लगाएतका संघसंस्थाले समेत सहयोग गरेका छन् ।


धेरै स्थानमा प्रभावित परिवार त्रिपालको सहारामा बसिरहेका छन् भने जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यले बताउनुभयो । जिल्ला विपद् ब्यवस्थापन समितिमार्फत समेत स्थलगत अनुगमनसहित विभिन्न कार्यहरु गरिएको छ ।

जिल्लाको सदरमुकाम, राजमार्ग जोड्ने सडकहरु अवरुद्ध हुदाँ तत्काल मर्मत तथा जोखिमपूर्ण स्थानमा रहेका नागरिकलाई समेत बैकल्पिक स्थानमा सार्न समेत समन्वय गर्ने गरिएको छ । जिल्लामा साउन महिनाको दोस्रो सातादेखि भारी बर्षाका कारण रातको समयमा सवारीसाधन आवतजावतमा समेत रोक लगाइएको छ । मनसुन सक्रिय रहेकाले पहिरो, बाढी र हावाहुरीको जोखिम अझै कायम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

Leave a Comment