हरिकृष्ण गौतम
म्याग्दीको धवलागिरी गाउँपालिका–६,मराङका रविन विक डेढ दशकदेखि काठबाट कलात्मक तरिकाले कुँदिएका परम्परागत साम्रागी बनाएर बिक्री गर्नुहुन्छ । यूवा ब्यवसायी बिकलाई जंगलमा पाइने गिठेदारबाट काठमा थरीथरी सामान बनाएर बिक्री गर्न भ्याइनभ्याई छ ।प्लास्टिकजन्य भाडाँकुडाका कारण आफ्नो पुख्र्यौली पेसा लोप हुने अवस्थामा पुगेपछि ब्यवसायीक रुपमा उत्पादन गर्न थाल्नुभएका विकले उत्पादन गरेका साम्रागी अहिले स्वदेशदेखि विदेशसम्म पुग्छ । बेनी नगरपालिका–७,मंगलाघाटमा उद्योग नै स्थापना गरी सहरदेखि ग्रामिण क्षेत्रसम्म प्रयोग हुने सामान उत्पादन गर्ने विकको सक्रियता निकै लोभलाग्दो छ ।

दैनिक काठका सामग्री बनाएर बिक्री गर्न जाने यूवा ब्यवसायी बिक पछिल्लो समय बजारमा बस्नेले समेत स–साना आकारका दही जमाउन काठका ठेकीको माग गर्न थालेपछि उत्साहित हुनुहुन्छ । ‘दही जमाउने काठको ठेकी बिदेशमा पनि पठाएको छु,प्लास्टिक तथा स्टिलका भाँडाको प्रयोगले चुनौति भएपनि यही ब्यवसायबाट सफल हुन संघर्षरत छु’ विकले बेनीअनलाइनलाई भन्नुभयो । काठको ठेकी बषौंसम्म टिकाउ हुने र दही जमाउने र मोही पार्ने सजिलो र मिठो समेत हुन्छ ।
ग्रामिण क्षेत्रबाट गिठेदार खरिद गरी बेनीमा ल्याएर अर्डर अनुसार पुचै आरी, मानापाथी,तुम्बा, थाल, कचौरा, गिलास, खुर्पेटासहित अर्डर अनुसारका सामान बनाउने विकको भनाई छ । घरबाट बिक्री नभएका साम्रागीलाई मेलापर्व तथा सहरबजार र ग्रामिण क्षेत्रसम्म लगेर बिक्री गर्ने गरेकोमा एउटा न्युनतम २ सय देखि २० हजारसम्मका सामान बनाउने गरेको बताउनुभयो ।
पछिल्लो समय यूवापुस्ताले पुख्यौली पेशालाई त्यागेर बैदेशिक रोजगारीतर्फ आर्कषित भइरहेको अवस्थामा आफुँले पुखौली पेशालाई आधुनिक प्रविधिको प्रयोग गरी निरन्तरता दिएको विकको भनाई छ ।
बेनी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले यूवा ब्यवसायीलाई प्रोत्साहन गर्न सामान खरिददेखि बिक्री र प्रविधि हस्तान्तरणमा समेत सघाउने बताउनुभयो । म्याग्दीमा विगतमा रहेका घरायसी उद्योग समेत उत्पादन गरिएका सामान बिक्री नहुदाँ बन्द हुने अवस्थामा पुगेको भन्दै स्थानीय सरकारले अनुदान, तालिम तथा उत्पादन गरेका साम्रागीको बजारीकरणमा सघाएमा नयाँ पुस्तालाई समेत आर्कषित गर्न सकिने काठका सामान बनाउने कालिगढको भनाई छ ।













