---Advertisement---

ग्यास आएपछि बेनीमा आपूर्ति सहज

On: August 9, 2026 9:29 PM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनीमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज हुन थालेको छ। इरान-अमेरिका द्वन्द्वपछि उत्पन्न ग्यास अभावका कारण उपभोक्ता समस्यामा परिरहेका बेला जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको समन्वयमा ग्यास वितरण गर्न थालिएपछि आपूर्ति सहज भएको हो।

म्याग्दी उद्योग वाणिज्य सङ्घ, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा स्थानीय व्यवसायीको समन्वयमा बेनी बजार र आसपासका क्षेत्रमा ग्यास वितरण गरिएको छ। आइतबार शक्ति ग्यास प्रालिको ग्यास जलजला गाउँपालिका, पर्वत बेनी र बेनी नगरपालिका, म्याग्दी बेनीका ३२ वटा पसलमा गरी ९९५ थान ग्यास सिलिन्डर आएको थियो। यसअघि दुई दिनपहिले पनि ग्यास आएपछि प्रशासनकै समन्वयमा वितरण गरिएको थियो।

ग्यास वितरणका क्रममा सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्य बजारमै खटिएर उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन सहजीकरण गर्नुभएको थियो। पर्वतको जलजला गाउँपालिकाअन्तर्गत पर्वत बेनी र म्याग्दीको बेनी नगरपालिकाअन्तर्गत म्याग्दी बेनीका विभिन्न ३२ वटा पसलमा पाँचदेखि १०० थानसम्म ग्यास सिलिन्डर पुगेको थियो। स्थानीय व्यवसायीका अनुसार मागअनुसार ग्यास उपलब्ध हुन थालेपछि उपभोक्ताको चाप पनि घट्दै गएको छ।

कतिपयले सञ्चयका लागि आएर लाइन बस्ने गरेको भए पनि ग्यास सकिएकै कारण भोकै बस्नुपर्ने अवस्थामै उपभोक्ताहरू नपुगेको व्यवसायी भगवान् बरुवालले बताउनुभयो। उहाँले प्रशासनसँगको समन्वयमै आफ्नो पसलमा आएको ग्यास वितरण गरिएको जानकारी दिनुभयो।

बरुवालले आफूसँग पसलमा करिब ३०० वटा खाली सिलिन्डर भए पनि आइतबार ४० थान मात्र ग्यास प्राप्त भएको जानकारी दिनुभयो। “प्राप्त भएको ४० थान ग्यास नियमित ग्राहक र प्रशासनको आग्रहअनुसार आएका उपभोक्तालाई वितरण गरेका छौँ,” बरुवालले भन्नुभयो।

यसअघि ग्यासको अभाव भएपछि उपभोक्ताले लामो समय कुर्नुपर्ने तथा खाली सिलिन्डर लिएर विभिन्न पसलमा धाउनुपर्ने अवस्था थियो। प्रशासन, उद्योग वाणिज्य सङ्घ र व्यवसायीबीचको समन्वयमा ग्यास वितरण हुन थालेपछि तत्कालका लागि समस्या कम भएको व्यवसायीको भनाइ छ।

ग्यासको आपूर्ति नियमित नभएसम्म प्रशासनले व्यवसायी तथा सम्बन्धित निकायसँग समन्वय गरी वितरणलाई व्यवस्थित गर्ने जनाएको छ। अभावको मौका छोपेर अनावश्यक रूपमा ग्यास सञ्चित गर्ने प्रवृत्ति रोक्दै अत्यावश्यक उपभोक्तालाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउने प्रयास भइरहेको प्रशासनको भनाइ छ। जिल्ला प्रशासन कार्यालय म्याग्दीले आइतबार बेनीका विभिन्न ३२ पसलमा आउने ग्यास सिलिन्डरको सङ्ख्यासहितको सूचना उद्योग वाणिज्य सङ्घसँगको समन्वयमा सार्वजनिक गरेरै सहजीकरण गरेको थियो।

गोरखापत्र अनलाइन

Leave a Comment