म्याग्दीको प्रसिद्ध गलेश्वरधाम शिवालय मन्दिरमा अघिल्ला तीन वटा सोमबार भन्दा अन्तिम (सोमबार) सबैभन्दा धेरै श्रद्धालु, भक्तजनहरुले दर्शन गरेका छन् । बेनी नगरपालिका–९, गलेश्वरस्थित रहेको गलेश्वर शिवालयमा यसवर्ष साउन महिनाको अन्तिम सोमबार पनि म्याग्दीसहित देशका विभिन्न जिल्लाबाट आएका भक्तजनहरुले बिहानैदेखि पुजाअर्चना गरेका हुन् ।साउने सोमबारहरुमा गलेश्वर शिवालयमा भक्तजनहरुलाई लक्षित गरेर विभिन्न १९ वटा उपसमितिहरु गठन गरी उनीहरुलाई सहज रुपमा पुजाअर्चना गर्ने व्यवस्थापन मिलाइएको थियो ।

यसवर्ष अन्तिम सोमबार म्याग्दीसहित देशका विभिन्न जिल्लाहरुबाट ३० हजारभन्दा बढी भक्तजनहरु आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए । पश्चिममा बृहस्पति अस्त भए पछि धार्मिककार्यहरुमा केही सुस्ताएका भक्तजनहरु पूर्वमा उदय भए सँगै उत्साहीत हुन थालेका छन् । विगतका तीनवटै सोमबार भक्तजनको उपस्थिति न्युन थियो । साउनको महिना र सोमबार भगवान् शिवको आराधना गरेमा आफ्नो मनोकांक्षासहित परिवारमा सुख, शान्तिको कामना गर्ने गरिन्छ ।

सोमबार ब्रत बसी शिवको आराधना गर्दा अटल सौभाग्य प्राप्ति हुने जनविश्वास भएकाले महिलाहरू बिहानै शिवालय मन्दिर पुग्ने गर्दछन् । साउन महिनालाई भगवान् महादेव (शिव)को प्रिय महिनाको रुपमा पनि लिने गरिएको पाइन्छ । पवित्र कृष्णागण्डकीबाट उठेर ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास छ ।

मन्दिरमा सङ्कलित भेटी पूर्वाधार विस्तार, कर्मचारी परिचालनलगायत विभिन्न धार्मिक कार्यमा खर्च गर्ने गरिन्छ । सत्ययुगमा सतीदेवीले अग्नीकुण्डमा हाम फालेर देहत्याग गरेपछि उनको मृत शरिर बोकेर शिव महादेव पृथ्वीको भ्रमण गर्ने क्रममा गलेश्वरमा आएर गलापतन भएपछि गलेश्वर नाम रहन गएको धार्मिक ग्रन्थ र पुराणहरुमा उल्लेख छ ।
















