म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ की एक महिलाले विदेशबाट आर्कषक उपहार तथा डलर उपहारको प्रलोभनमा १ लाख ६ हजार ४३० रुपैयाँ गुमाइन् । विदेशबाट सामान पठाएपछि भन्सार शुल्क भन्दै पटक–पटक गरी पैसा पठाएपनि अहिलेसम्म फिर्ता भएको छैन। रघुगंगा गाउँपालिका–१,का एक यूवाको मोवाइल नै ह्याक गरी खाताबाट १ लाख ४० हजार गायब भएको छ । छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिका–१, हाल बेनीमा बस्ने एक महिलाले आर्कषक अनलाइन सामान खरिद गर्न खोज्दा दुई लाख ९० हजार २ सय ५० रुपैयाँ ठगिएको भन्दै प्रहरीलाई निवेदन दिइन् ।
आर्कषक उपहार पठाए बापत केही रकम नेपाल सरकारलाई कर तिर्नुपर्ने भन्दै पटक–पटक गरी चालु आर्थिक बर्ष २०८३÷०८४ सालमा म्याग्दीमा अनलाइनको माध्यमबाट ठगिएको रकम फिर्ता गरी ठग्ने व्यक्तिलाई कारबाही गरी पाउँ भन्दै जिल्ला प्रहरी कार्यालय म्याग्दीमा ७ जना पीडितले ५ लाख १२ हजार १६० रुपैयाँ बराबरको उजुरी दिएका छन् भने केहीको थप अनुसन्धानको क्रममा रहेको छ । समाजिक सञ्जाल ठगी, बैङ्किङ ठगी, अनलाइन सपिङ तथा पेमेन्ट, चिट्ठा, स्क्याम, विभिन्न अनलाइन गेममा ठगीएकोे उजुरी दिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले बेनीअनलाइनलाई बताए ।
‘डिजिटल माध्यमबाट ठगिनेको संख्या ग्रामिण क्षेत्रमा अधिक देखिन्छ, अधिकांस शिक्षित नै प्रलोभनमा फसेको देखिन्छ’प्रहरी निरीक्षक तिमिल्सिनाले भने। व्यक्तिगत रूपमा ठगिएका धेरैले परिवारका सदस्यहरूबाट गाली खाने र समाजले थाहा पाउने भन्दै लुकाउने गरेकाले म्याग्दीमा डिजिटल माध्यमबाट ठगिनेको संख्या अधिक रहेको अनुमान प्रहरीले गरेको छ ।












