भारतीय गोर्खा सैनिक (गोर्खा रेजिमेन्ट इन्डिया) मा नेपालीलाई पुनः भर्ती खुलाउन म्याग्दीका भारतीय भूतपूर्व सैनिकले माग गरेका छन् । नेपाली युवाका लागि भारतीय सेनामा अग्निपथ योजना अन्तर्गत भर्ती पुनः सञ्चालन गर्न र भूतपूर्व सैनिकका संघ–संस्थाहरुको नवीकरण सहज बनाउन सरकारसँग माग गर्दै म्याग्दीको सदरमुकाम बेनीमा बुधबार प्रर्दशन गरेको भुतपूर्व सैनिक कल्याणकारी सेवा केन्द्र म्याग्दीले सरकारले बेवास्था गर्दा धेरै यूवाहरु रोजगारबाट बन्चित हुनुपर्ने अवस्था आएको बताएका थिए ।
सेवा केन्द्रका अध्यक्ष क्याप्टेन मिनबहादुर कार्कीले भारतीय सेनामा नेपाली युवाहरुको भर्ती प्रक्रिया रोकिएका कारण लाखौँ युवाहरु रोजगारीबाट वञ्चित भएको बताए । १८१४–१८१६ को सुगौली सन्धिपछि सुरु भएको भर्ती प्रक्रिया भारतले १४ जुन २०२२ बाट अग्निपथ योजना सुरु गरेपछि नेपाल सरकारले विभिन्न कारण देखाउँदै नेपाली युवालाई भर्ती हुनबाट रोकेको बताए ।
यसले गर्दा पुर्खाहरुले आर्जन गरेको बहादुरीको इतिहास मेटिने खतरा बढेको र देशमा भित्रिने रेमिट्यान्समा समेत कमी आएको छ ।
अग्निपथ योजना अन्तर्गत साढे १७ वर्षदेखि २१ वर्षसम्मका युवा भर्ती हुन पाउने र उनीहरुले ४ वर्षको अवधिमा तलब र अन्य सुविधासहित करिब ४५ लाखदेखि ५० लाख रुपैयाँसम्म कमाउन सक्ने विज्ञप्तिमा उल्लेख छ ।
त्यसपछि पनि २५ प्रतिशतलाई भारतीय सेनामा स्थायी गरिने र बाँकी ७५ प्रतिशतलाई सम्मानजनक मुष्ठ रकमसहित बिदा गरिने प्रावधान रहेको ब्रिगेडले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
सेवाबाट निस्किएका युवाका लागि भारतका विभिन्न अर्धसैनिक बल तथा बहुराष्ट्रिय कम्पनीहरुमा रोजगारीको सुनिश्चितता गरिएको र नेपाल फर्केकालाई पनि नेपाली सेना वा प्रहरीमा भर्ना गर्न सकिने तर्क समेत गरिएको छ । नेपालमा भारतीय, बेलायती र सिंगापुरका भूतपूर्व सैनिकहरुको ठूलो संख्या रहेको र उनीहरुले विभिन्न संघ–संस्थामार्फत समाज सेवामा पु¥याएको योगदानलाई सरकारले अनदेखा गरेको आरोप लगाइएको छ ।













