म्याग्दी सदरमुकाम बेनीमा तीन सय वर्ष पहिलेको ऐतिहासिक धरोहर मानिएको बर्खेनाच सुरु गरिएको छ। नेपाल भाषा मंकाः खलको आयोजनामा बर्खेनाचको पहिलो दिन प्राचीन समयमा समाजमा खलपात्रका रुपमा चिनिएको घण्टाकर्ण नाम गरेको राक्षसको प्रतीक बनाई त्यसलाई बध गरी कालीगण्डकीमा विसर्जन गरेसँगै एकमहिने बर्खे नाच सुरु भएको हो।
नेपाल भाषा मंकाः खलको आयोजनामा मङ्गलबार सङ्गमचोकबाट तीनखुट्टे राक्षसको प्रतीकात्मक आकृतिलाई बजार परिक्रमा गराई बध गरेर कालीगण्डकी नदीमा विसर्जन गरिएको अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बेनीअनलाइनलाई बताउनुभयो ।
घण्टाकर्णलाई नदीमा बगाएपछि बर्खेनाच औपचारिक रुपमा सुरु हुने गरेको छ । ‘घण्टाकर्णको बध गरी कालीगण्डकीमा विसर्जन गरियो, भदौ १ गतेदेखि लाखे नाच सुरु हुन्छ, यसबर्ष रोपाईसहित पूराना नाचको पनि तयारी भइरहेको छ’ अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
बर्खेनाचअन्तर्गत लाखेनाच, रोपाइँ नाच, घोडा नाच, नागानागिनी नाच, श्रीकृष्ण र रथयात्रा नाच देखाउने गरिन्छ । बर्खे नाचमा मंकाः खल अन्तर्गतको युवा सङ्गठन ल्याम्हपुच र महिला समुहले समेत विभिन्न नाचको जिम्मेबारी लिएका छन् । विगतमा जनशक्ती अभावमा नियमित देखाउन छोडिएको रोपाईसहितका नाचहरुको ब्यवस्थापनसहितका कार्यमा समेत नेपाल भाषा मंकाखलले सक्रियता देखाइरहेको छ ।
समाजमा दुःख दिएको र विकृति फैलाउने घण्टाकर्णको विसर्जनपछि पति वियोगमा परेकी राक्षसको पत्नीले देखाउने चरित्रलाई बर्खे नाचमार्फत प्रदर्शन गरिन्छ । घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्र प्रदर्शनलाई बर्खेनाचमा देखाउने गरिन्छ ।
बर्खेनाचको समापनसँगै चाडपर्वको रौनकता छाउने भएकाले पनि बेनीबजारमा यसको महत्व धेरै रहेको छ। बेनीमा देखाइने बर्खे नाच नेवारी समुदायको परम्परागत संस्कृतिमात्रै होइन बेनीबजारबासीको मौलिक कला र सभ्यतासँग समेत जोडिन्छ । बर्खेनाचमा नेवार समुदायका साथै बेनीबजारमा बसाबास गर्ने क्षेत्री, बाह्मण र जनजाति युवाहरुले पनि साथ दिने गरेका छन्।
सदरमुकाम बेनीबजारमा तीनसय वर्षपहिले मानव बस्तीको विस्तार भएदेखि नै बर्खे नाच सुरु गरिएको बताइन्छ । बर्खेनाचअन्तर्गत तीजको दिनमा दानवीय स्वरूपको लाखेलाई भगवान् श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजय हुने सन्देशसहित यो नाच समाप्त हुने प्रचलन रहेको छ।विसं १७६० को दशकमा बेनीमा बस्ती बसेपछि भक्तपुरबाट नेवार समुदायका मानिसहरु यहाँ बसाइँसराइ गरी आएपछि बर्खेनाचमार्फत बेनी र ग्रामिण क्षेत्र जोडिएको थियो ।













