म्याग्दीमा प्रहरीले विभिन्न स्थानमा अवैध रूपमा लुकाइराखिएको पाँच थान भरुवा बन्दुक बरामद गरेको छ । सामुदायिक वनहरुमा चोरी–सिकारीका लागि राखिएको बन्दुकको सूचनाको आधारमा प्रहरी टोलीले गस्ती गर्ने क्रममा लुकाइछिपाइ राखिएको अवस्थामा चार थान भरुवा बन्दुक फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
प्रहरीका अनुसार मंगला गाउँपालिका–४, बुकेनीस्थित सामुदायिक वनको बरजा–बुकेनी सडकखण्डको बाटो नजिकै खोचमा लुकाइराखिएको अवस्थामा एक थान बन्दुक बरामद गरिएको छ । उक्त बन्दुक साउन ९ गते बरामद गरिएको हो । त्यसैगरी रघुगंगा गाउँपालिका–३, बादुकस्थित सामुदायिक वनमा साउन १६ गते तीन थान भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।
रघुगंगा गाउँपालिका–७, चिमखोलास्थित कर्चेखोला वनमा साउन ३० गते थप एक थान भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले जानकारी दिनुभयो ।बरामद भएका पाँचै थान भरुवा बन्दुक सम्बन्धित प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
सामुदायिक वनहरुमा चोरी–सिकारी बढेको तथा गाउँघरमा आपसी विवाद र झै–झगडामा समेत भरुवा बन्दुकको दुरुपयोग हुने जोखिम बढेकाले इजाजत पत्र नलिईकन लुकाई–छिपाई राखिएका भरुवा बन्दुकको खोजी अभियानलाई समेत तिब्रता दिइएको छ ।
जिल्लाभर स्थानीयवासीबाट प्राप्त सूचनाका आधारमा गोठ, जंगल, खोलाखोल्सा तथा बसोबास नभएका खाली घरमा लुकाएर राखेको अवस्थामा भेटिने गरेको छ। म्याग्दीमा अवैध बन्दुक भएमा प्रहरीलाइ बुझाउन वा खवर गर्न अनुरोध गरिएको छ । अबैध बन्दुक सहित फेला पारेमा ५ बर्ष कैद र ५० हजार जरिवानको कानुनी ब्यवस्था रहेको छ । बरामद गरिएका बन्दुकमध्ये कसैको पनि लाइसेन्स नभएको अवस्थाका रहेका थिए ।











