---Advertisement---

१४औँ शताब्दीदेखि ‘साकाहारी गाउँ’ गाजने

On: August 25, 2026 1:41 PM
Follow Us:

अहिलेको जमनामा सुन्दै अचम्म लाग्न सक्छ शताब्दीऔं देखि म्याग्दीको एक गाउँ साकाहारी गाउँका रूपमा चिनिने गरेको छ । बेनी नगरपालिका–५,गाजने गाउँमा परापूर्वकालदेखि नै कुखुरापालन र बंगुरपालन हुँदैन भने अवैधरूपमा घरेलु मदिरासमेत उत्पादन गरिँदैन ।

नेपालमा बाइसे–चौबीसे राज्यका पालामा तत्कालीन राजा दिलीप बम मल्ल (डिम्ब) ले गाजने गाउँमा भगवान् जगन्नाथको मूर्ति ल्याएर स्थापना गरेसँगै सोही समयदेखि नै गाजने गाउँमा कुखुरा, सुंगुरपालन, बंगुरपालन र मदिरा उत्पादनलाई निषेध गरिएको छ।


मन्दिर आसपासको बस्तीमा मदिरा उत्पादन र कुखुरापालन गर्नेहरूलाई अनिष्ट भएपछि केही विस्थापित समेत भएका छन् । गाजने गाउँ मदिरा, कुखुरापालन मात्रै नभई बाहिरबाट ल्याएर समेत पसलमा बिक्री–वितरण हुँदैन। जगन्नाथ भगवानले मदिर र मासुको उत्पादनलाई राम्रो नमान्ने भएकाले यसको उत्पादन र बिक्री–वितरण नभएको स्थानीय अगुवा रामबहादुर बानियाँले बताउनुभयो । ‘दलित र गैरदलितको घरमा एउटै नियम छ, सबैले पालना गरेका छौ, अटेरी गर्नेहरुलाई क्षती भएपछि विस्थापित समेत हुनुपर्ने अवस्था आएको थियो’ अगुवा बानियाँले बेनीअनलाइनलाई भन्नुभयो।


गाजने गाउँका घर–घरमा व्यावसायिकरूपमा लोकल जातको कुखुरा, व्यावसायिक कुखुरा र बंगुरपालन तथा अन्नपातको सहयोगमा उत्पादन गरिने घरेलु मदिरा बनाउने प्रयास गरेकालाई मानवीय क्षती समेत भएको भन्दै स्थानीयले भगवान जगन्नाथको आदेशलाई नै पालना गर्ने बताउँछन् । तत्कालीन राजा दिलीप बमले जगन्नाथ मन्दिरको स्थापना गरेसँगै गाजने गाउँमा कुखुरा तथा बंगुरपालन र मदिरा उत्पादन गर्न नहुने किंवदन्ती छ ।हाल गाजने गाउँमा जम्मा २१ घरधुरीको मात्रै बसोबास रहेकोमा बसाईसराई गरेर जानेहरुको समेत गाउँमै घर रहेको छ ।


तत्कालीन राजा दिलीप बमले १४औं शताब्दीमा भारतको उडिसा राज्यबाट भगवान् जगन्नाथको मूर्ति ल्याएर स्थापना गरी आफू सोही ठाउँमा अलप भएको उनको समाधिस्थलसमेत रहेको हुँदा रातो रङको प्रयोगमा निषेध हुँदै आएको जगन्नाथधाम गुठी व्यवस्थापन समितिका अध्यक्ष नीलकण्ठ शर्माले बताउनुभयो । ‘यो तत्कालीन राजाले बसालेको नियम हो, बीचमा केहीले मदिरा बनाउने प्रयास गरेका थिए, उनीहरूको परिवारलाई उक्त कदमले शुभ दिएन, क्षति भयो, अहिले कसैले पनि यो नियम तोड्ने हिम्मत गर्दैनन्’ उहाँले भन्नुभयो। तत्कालीन समयमा स्थानीयले नभई राजाले नै यस्तो नियम बनाएर लागू गरेको उहाँले भनाइ छ।


गाजने गाउँमा कुखुरा, बंगुर र मदिरा त चल्दैन भने जगन्नाथ मन्दिर पूजाआजा गर्नका लागि रातो रङको फूल, टीका र अबिर पनि चल्दैन। जगन्नाथ मन्दिरमा अबिरको सट्टा केसरी र रातो धजा पताकाको सट्टामा पहेंलो र सेतो कपडाको फेटा लगाइन्छ भने पहेंलो र सेतो धजा चढाउने गरिन्छ ।

पछिल्लो समय गाजने पर्यटकीय गाउँको रूपमा विकास हुन थालेको छ। ऐतिहासिक धरोहरका रूपमा रहेको जगन्नाथ मन्दिरमा पूजाआजा गर्नको साथै अनौठा परम्परागत मान्यतालाई जोगाउँदै आएको गाजनेको स्थलगत अवलोकनका लागि पर्यटक पुग्ने गरेका छन्। यसबर्ष विगतको तुलनामा निकै धेरै भक्तजनहरु पुगेका थिए । गाउँको शिरमा रहेको केभहिलबाट धवलागिरि र अन्नपूर्ण हिमशृंखलाको अवलोकन गर्न सकिन्छ । यस क्षेत्रलाई बेनी नगरपालिकाको आर्कषक गन्तब्यको रुपमा समेत लिन सकिन्छ ।

Leave a Comment