---Advertisement---

धार्मिक ऐतिहासिकस्थल जगन्नाथ मन्दिरमा रथयात्रा (फोटो फिचर)

On: August 24, 2026 1:56 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वको जगन्नाथ मन्दिरमा सोमबार रथयात्रा गरिएको छ । जगन्नाथ मन्दिरधाम गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा जगन्नाथ मन्दिरमा रहेका भगवान् जगन्नाथको मूर्तिलाई रथयात्रामार्फत सार्वजनिक गरी भक्तजनका लागि प्रत्यक्ष रुपमा अवलोकन र दर्शन गराइएको हो ।


तत्कालीन बाइसे चौबिसे राज्यको पालामा राजा दिलीपबम मल्लले गजन्नाथ मन्दिर बनाएर भगवान् जगन्नाथको प्राणप्रतिष्ठा गरेपछि हरेक वर्ष सरकारी भोज र भगवान्को मूर्तिको साफा परिवर्तन गर्ने चलन सुरु गरेको इतिहास रहेको जगन्नाथ मन्दिरधाम गुठी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष नीलकण्ठ शर्माले जानकारी दिए। एक दिनमात्रै भगवानको मूर्तिलाई प्रत्यक्ष अवलोकन गर्न पाइने भएकाले यस दिन भक्तजनको भीडभाड हुने गरेको छ ।


विसं १५५० मा राजा दिलीपबम मल्लले जगन्नाथको स्थापना गरी आफू सोही ठाउँमा अलप भएको किंवदन्ती छ । ५३१ वर्ष पुरानो जगन्नाथ मन्दिरलाई नेपालमै फरक स्वरुपमा पुनर्निर्माण गरिएको छ ।

मन्दिरभित्र जगन्नाथ, डिम्ब महाराज, गणेश, रामलक्ष्मण, कृष्ण, बलराम, नृसिंह, चतुर्बाहुका मूर्तिहरु राखिएका छन् । तत्कालीन राजा मल्लले भारतको उडिसा राज्यबाट जगन्नाथको मूर्ति ल्याएर स्थापना गरेको विश्वास छ । जगन्नाथकै कारण गाजने गाउँमा कुखुरापालन र मदिरा उत्पादन निषेध गरिएको छ । यस मन्दिरमा पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वाससमेत रहेको छ ।

Leave a Comment