बेलायतस्थित बेजिङ्स्टोक नेपाली समाजलेनिर्मल पूर्जा ‘निम्स दाइ’ को सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ। पाकिस्तानको ब्रोड पिक हिमाल चढने क्रममा हिउँपहिरोमा परी दिवंगत भएका स्व. निर्मल पूर्जा ‘निम्स दाइ’ र अन्य नौ जना पर्वतारोही समेतको सम्झनामा काउन्सिल अफिसको मेमोरियल प्रांगणमा आयोजित उक्त वृहद श्रद्धाञ्जली सभामा सांसद लुक मर्फी, मेयर ज्याकी टस्टाइन, काउन्सिलरहरू डा. पोल हार्वी, लोरा जेम्स, जोन म्याके लगायत विभिन्न समुदायका नेतृत्व र सर्वसाधारण ठूलो संख्यामा उपस्थित थिए।
श्रद्धाञ्जली सभामा निर्मल पूर्जाका दाइ कमल पुर्जाको उपस्थितिले सबैलाई भावुक बनाएको थियो।
बेजिङ्स्टोक नेपाली समाजका अध्यक्ष विजय लिङथेप र दाजु कमल पुर्जाले दिवंगत आरोहीहरुको तस्बिर नजिकै रहेको मैनबत्ती संयुक्त रुपमा दिप प्रज्वलन गरी शोक व्यक्त गरेका थिए। कार्यक्रममा परिवारका अन्य सदस्यहरू पनि उपस्थित थिए।
शोक मन्तव्यका क्रममा दाइ कमल पुर्जाले बेजिङ्स्टोक नेपाली समाजले सम्मानित व्यक्तित्वहरूको उपस्थिति सहितको श्रद्धाञ्जली सभामा परिवारलाई निम्ता गरेको भन्दै बेजिङ्स्टोक नेपाली समाजलाई धन्यवाद दिए। उनी भाइ निर्मल पूर्जाका स्मरणहरू सुनाउँदा भक्कानिएका थिए। भाइको देहावसानवाट परिवारको ठूलो आधार टुटेको बताउँदै कमल पुर्जाले तर आफ्नो भाइ नेपालमा जन्मेर विश्वले सम्मान गर्न लायकका साहसिक कार्यहरू गरेर कहिल्यै नअस्ताउने गरी रहिरहने बताए।
‘तपाईहरूले दिनुभएको पारिवारिक मायाममता सबै त्यसैको परिणाम हो,’ उनले भने।
कार्यक्रममा शोक मन्तव्य दिने क्रममा आमन्त्रित अतिथिहरू सांसद लुक मर्फी, मेयर ज्याकी टस्टाइन, काउन्सिलरहरू डा. पोल हार्वी, लोरा जेम्स, जोन म्याकेलगायत सबैले निर्मल पूर्जाको साहसिक कार्यको प्रशंसा गरेका थिए।
पाकिस्तानको ब्रोड पिक हिमाल चढने क्रममा हिउँ पहिरोमा परी दिवंगत भएका निर्मल पूर्जा ‘निम्स दाइ’ र अन्य नौ जना पर्वतारोही समेतको सम्झनामा आयोजित श्रद्धाञ्जली सभामा एक मिनेट मौन धारण गरिएको थियो र उपस्थित सवैले लाइन लागेर श्रद्धाञ्जली प्रकट गरेका थिए। लाफा समाजका अध्यक्ष एवं बेजिङ्स्टोक नेपाली समाजका उपाध्यक्ष बलबहादुर थापाले सैनिक पोशाकमा उपस्थित भएर स्यालुट दिएका थिए। निर्मल पुर्जाले वेलायतको गोर्खा ब्रिगेडियरमा सेवारत रही अवकाश लिएका थिए।
कार्यक्रममा बेजिङ्स्टोक नेपाली समाजका तर्फबाट महासचिव जगदीश वाग्लेले कार्यक्रमको सञ्चालन गरेका थिए र निर्मल पुर्जाको साहसिक कार्य र प्रेरणादायी सन्देश समेटेर तयार पारेको शोक सन्देश पढेर सुनाएका थिए। बेजिङ्स्टोक नेपाली समाजका अध्यक्ष विजय लिङथेपले सवैलाई धन्यवाद दिंँदै दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरे र शोकाकुल परिवारजनमा समवेदना दिँदै सभा विसर्जन गरेका थिए। Source:-deshsanchar.com










