म्याग्दीको बेनी नगरपालिका-५, गाजेनमा अवस्थित ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वको जगन्नाथ मन्दिरबाट पूजा गर्ने क्रममा एक महिलाको घाँटीबाट सुनको सिक्री चोरी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
सोमबार मन्दिरमा पूजा गर्ने क्रममा स्थानीय ५९ वर्षीया भद्रकुमारी कार्कीले लगाएको करिब ३.५५ लालको सुनको सिक्री चोरी गरी भागेकाबारा बारागढी गाउँपालिका–३ खोपवा बस्ने १९ वर्षीय आकाश राय, पर्सा वीरगञ्ज महानगरपालिका–२० हरपतगंज बस्ने १९ वर्षीय लालबाबु राय, सोही स्थानका २६ वर्षीय प्रमोद कुमार र २४ वर्षीय सुनिल कुमार राय तथा एक नाबालक रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले बताउनुभयो ।
‘मन्दिरबाट चोरी गरी भागेको अवस्थामा पक्राउ गरिएको थियो,चोरी मुद्दामा म्याग्दी जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ, आरोपीको विगत समेत चोरीमा संलग्न भएको देखिन्छ’ प्रहरी निरीक्षक तिमिल्सिनाले बेनीअनलाइनलाई भन्नुभयो । पक्राउ परेकामध्ये केही व्यक्तिविरुद्ध यसअघि पनि अन्य जिल्लामा चोरीसम्बन्धी मुद्दा चलेको खुलेको छ । गाजनेमा चोरी गरेपछि गाडी रिर्जभ गरेर भागेको अवस्थामा चालकमार्फत प्रहरीले नियन्त्रणमा लिएको थियो ।
चोरी भएको सिक्री फेला परेको छैन ।
बेनीमा आएपछि मेलापर्वका बारेमा जानकारी लिएपछि गाउँ उक्लिएको समेत प्रारम्भीक अनुसन्धानमा खुलेको छ । पीडित महिलाले समेत हराउने क्रममा आसपासमा देखिएहरु नै भएको बताएपछि अनुसन्धानमा थप सहज भएको छ । धार्मिक स्थल, मेला तथा भीडभाड हुने स्थानमा सुनचाँदीका गरगहना लगाएर जाने सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गर्ने गरिएपनि भक्तजनले समेत सूचनाको बेवास्ता गर्ने गरेका छन् ।








