---Advertisement---

निम्सदाइ पुर्जाको अन्त्येष्टि आज, परिवार र निकट आफन्त मात्र सहभागी हुने

On: August 26, 2026 9:46 AM
Follow Us:

पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा निधन भएका चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को अन्त्येष्टि आज (बुधबार) बेलायतको डोर्सेटमा गरिँदै छ।

पारिवारिक स्रोतका अनुसार अन्त्येष्टि समारोहमा परिवारका सदस्य तथा निकट आफन्त मात्र सहभागी हुनेछन्। निम्सका दाइ कमलबहादुर पुर्जाले मंगलबार जारी गरेको विज्ञप्तिमा अन्त्येष्टि स्थलको सीमित क्षमता, सुरक्षा व्यवस्था, परिवारको गोपनीयता र प्रतिकूल मौसमलाई ध्यानमा राख्दै ठूलो संख्यामा सहभागी गराउन नसकिने जानकारी दिएका छन्।

विज्ञप्तिअनुसार यसअघि नाम दर्ता गराएका व्यक्तिहरूलाई मात्र अन्त्येष्टि समारोहमा सहभागी हुन अनुमति दिइनेछ। परिवारले ज्येष्ठ नागरिक तथा साना बालबालिकालाई समारोहमा उपस्थित नहुनसमेत आग्रह गरेको छ।

अन्त्येष्टि समारोह सम्पन्न भएपछि निर्मल पुर्जाप्रति सार्वजनिक रूपमा श्रद्धाञ्जली अर्पण गर्न छुट्टै कार्यक्रम आयोजना गरिने जनाइएको छ। उक्त कार्यक्रममा उनका सहकर्मी, शुभेच्छुक, नेपाली समुदाय तथा पर्वतारोहण क्षेत्रमा आबद्ध व्यक्तिहरूले श्रद्धाञ्जली अर्पण गर्ने अवसर पाउनेछन्।

पाकिस्तानको काराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा गत जुलाई ३० मा भएको दुर्घटनामा पुर्जासहित ६ जना नेपालीको निधन भएको थियो।

साहस, कीर्तिमान र हिमालप्रतिको समर्पणका कारण विश्वभर परिचित बनेका निम्सदाइको अन्त्येष्टिले नेपाली पर्वतारोहण समुदायमा भावुकता थपेको छ।

Leave a Comment