हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दुई दिनमा १९ हेलिकप्टरले ९५ भारतीय धार्मिक पर्यटकले मुक्तिनाथ मन्दिरको दर्शन गरेका छन् ।
अनुकुल मौसमसँगै पोखराबाट नियमित हवाइ उडानसँगै चार्टर हेलिबाट वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा १ मा अवस्थित मुक्तिनाथ क्षेत्रमा रहेको हेलिप्याडमा सोमबार आठवटा र मंगलबार एघारवटा हेलिकप्टरले सिधै काठमाडौंबाट उडान गरेका जोमसोम विमानस्थलका प्रमुख दीपक पोखरेलले बताउनुभयो ।
पोख्रेलले भन्नुभयो, ‘‘चार्टर हेलिबाट मुक्तिनाथ र दामोदर कुण्ड जाने अधिकांश भारतीय नै हुन्छन्, विमानबाट आउनेमा भारतीयको संख्या नै धेरै छ ।’’ विमानस्थल प्रमुख पोखरेलका अनुसार काठमाडौंबाट सिधै मुक्तिनाथ र मुक्तिनाथबाट काठमाडौं उडान गर्नेमा निजी हेलिकप्टर कम्पनीहरु एयर डाइनेस्टिक, एभरेस्ट हेली, अन्नपूर्ण एयर र सिम्रिक एयर, अल्टिच्युड एयर रहेका छन् ।
सडकमार्ग हुदै आउने भारतीयलाई लेक लाग्ने समस्याका साथै बर्खाको समयमा सडक अवरुद्धको जोखिमलाई समेत मध्यनजर गरी हेलिकप्टरको प्रयोग गर्ने गरेको मुक्तिनाथ मन्दिर ब्यवस्थापन समितिका कार्यालय प्रमुख दिनेश भुषालले बताउनुभयो ।

भदौ महिना लागेसँगै विहानैदेखि दैनिक १२ सयको हाराहारीमा तीर्थालु आउने गरेकोे भुषालको भनाइ छ । मन्दिरमा बेनी–जोमसोम सडकखण्ड हुँदै नेपाली तथा भारतीय तीर्थालु मन्दिरमा दर्शन गर्न आउने गरेका छन् । मुक्तिनाथमा दर्शन, पूजापाठ र स्नान गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ ।
हिन्दु धर्मग्रन्थअनुसार मुक्ति प्राप्तिका लागि उहिल्यै ब्रह्माले मुक्तिनाथमा योगरुप यज्ञ गरेको इतिहास छ । बौद्धमार्गीकाअनुसार तिब्वतबाट बौद्धमार्गी पण्डित कैलाश पर्वत दर्शन गर्न गएको र कैलाशको जल लिएर मुक्तिनाथमा सञ्चय गरी १०८ धारा बनाइएको मन्दिरमा पूजारी कृष्णप्रसाद सुबेदीले बताउनुभयो ।
मुक्तिनाथ मन्दिरमा दर्शन गर्न आउने तीर्थालुलाई लेक लाग्ने समस्याबाट ग्रसित भएकाको उपचारका लागि ‘हाइ अल्टिच्युड’ उपचार केन्द्रमा स्वास्थ्यकर्मीले उपचार गर्ने गरेका छन् । समुन्द्री सतहदेखि ३ हजार ६१० मिटरको उचाइँमा अवस्थित मुक्तिनाथ मन्दिर रहेको ठाउँलाई मुक्तिक्षेत्रको नामले चिनिन्छ ।
मुक्तिनाथ मन्दिरमा नेपाली तथा विदेशी तीर्थालु र तेस्रो मुलुकबाट आउने पर्यटक गरी बार्षिक करिब ८ लाखको आगमन रहेको छ । मन्दिरमा नेपालीपछि सबैभन्दा धेरै भारतीय तीर्थालु पुग्ने तथ्याङ्कले देखाउँछ । अर्ध निषेधित क्षेत्रमा पर्ने उपल्लो मुस्ताङमा रहेको दामोदर कुण्डमा हेलिकप्टरमा आउने पर्यटक, तीर्थालुबाहेक अनिवार्य रूपमा एक जना सुरक्षा निकायका प्रतिनिधि रहने व्यवस्था छ ।









