रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि ४०३ जना पर्यटक सम्पर्कविहीन भएका छन्। तीमध्ये ६२ जना नेपाली र ३४१ जना विदेशी पर्यटक रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ।
पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरका अनुसार विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर भ्रमणमा गएका पर्यटक बाढीपछि सम्पर्कविहीन भएका हुन्। सम्पर्कविहीनमध्ये २०३ पुरुष र २०० महिला रहेका छन्।
बोर्डका अनुसार सम्पर्कविहीन हुनेमा भारतीय पर्यटकको संख्या सबैभन्दा धेरै छ। हालसम्म प्राप्त विवरणअनुसार भारतका १३३, अमेरिकाका ४७, अष्ट्रेलियाका ३४, बेलायतका ३३, क्यानडाका २४ र मलेसियाका १९ जना पर्यटक सम्पर्कविहीन छन्।
यस्तै, युक्रेनका सात, सिङ्गापुर र दक्षिण अफ्रिकाका छ/छ तथा न्युजिल्यान्ड र जापानका पाँच/पाँच जना पर्यटक पनि सम्पर्कविहीन रहेको जनाइएको छ। जर्मनी, फ्रान्स, रुस, स्पेन, आयरल्यान्ड, नेदरल्यान्ड्सलगायत २५ भन्दा बढी देशका नागरिकसमेत प्रभावित भएको पर्यटन बोर्डले जनाएको छ।
बाढीले टिमुरे र स्याफ्रुबेँसी क्षेत्रका बस्ती, प्रहरी चौकी तथा भन्सार कार्यालयमा ठूलो क्षति पुर्याएको छ भने रसुवागढी नाका जोड्ने सडक र पुलहरू पनि क्षतिग्रस्त भएका छन्।
पर्यटकको अवस्था पत्ता लगाउन तथा आवश्यक समन्वयका लागि नेपाल पर्यटन बोर्डले टोल फ्री नम्बर १२३४, हटलाइन ११४४ तथा पर्यटन प्रहरीको नम्बर ९८५१२८९४४५ मा सम्पर्क गर्न आग्रह गरेको छ।










