म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा अवस्थित नाङ्गी बराही मन्दिर नजिकै रहेको तालमा एक बृद्धाले भावुक हुदैं आफ्नो छोरा पटक–पटक बैदेशिक रोजगारीमा पाएको दुःख हटाइदिन पुजारीलाई अनुरोध गरिन् । पूजारीद्धय सोनाम पुन र अजय चोचाङ्घीलाई सुनाए लगत्तै पुजारीले चिच्चाउँदै भाकल पूरा गरिदिन तालमा चुर्लुम्म डुबेर बृद्धालाई हिलो दिए ।
जनैपूर्णिमाको दिन देशका विभिन्न जिल्लाबाट आएका भक्तजनले मुल मन्दिरमा पूजा गरेपछि नजिकै जंगलमा रहेको तलाउमा पुगेर पारिवारिक सुख, सम्पत्ति, सन्तान लाभ, रोजगारी, सुस्वास्थ्य लगायतका विभिन्न भाकल गर्ने गरेका छन् ।

भक्तजनले तालमा रहेका पूजारी र पूजारीले चर्को स्वरमा भाकल पूरा गरिदिन बराही मातालाई गरेको अनुरोध निकै रोचक हुने गरेको छ । तालमा पुग्ने केहीले राम्रो श्रीमान–श्रीमती चाहियो भन्दै बर माग्ने गरेको पाइन्छ ।

तालको हिलो समातेर भक्तजनपछि नफर्किकन घर फर्कने र चाहेको कुरा पूरा भएमा पुनः भाकल गर्न र भाकल फिर्ता गर्न त्यहाँ पुग्ने गरेका छन् । कलिला बालबालिकादेखि बृद्धबृद्धासम्मले यहाँ हरेक वर्ष जनैपूर्णिमामा पूजा गरी तालमा पुगेर चिच्चाएर आफ्नो इच्छा अनुसार माग्ने गरेको नाङ्गी पूजा संरक्षण समितिका कोषाध्यक्ष टेकबहादुर पुनले बेनीअनलाइनलाई बताए ।

‘यहाँ माग्ने र फर्काउन आउनेको उत्तिकै भिड लाग्छ, तीनपटकसम्म दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास छ’ कोषाध्यक्ष पुनले भने । चिच्चाएर माग्दा पारिवारिक, ब्यक्तिगत दुस्मनी तथा कसैलाई हानी हुने भाकल भएमा पूजारीले निषेध गर्ने गरिएको पुनको भनाई छ । म्याग्दीका साथै विभिन्न जिल्लाबाट ठुलो संख्यामा मन्दिरमा दर्शन गर्न भक्तजनहरू पुगेका छन् । बर माग्ने र कति मागेको बर पूरा भएपछि बर फिर्ता गर्नहरूको भिड हुन्छ ।

नांगी गाउँ नजिकै जंगलको बिचमा बराहनी माताको मन्दिरमा पूजा गर्न राती १२ बजेदेखि नै लाइन बस्ने गर्दछन् । प्रकृति पूजा गर्नेको समुदायले परम्पराकालदेखि नै पूजाआजा गर्दै आएको नाङ्गी बराहनी माताको महिमा बढ्दै गएको थियो, प्रचारप्रसार र सडक सञ्जालको पहुँचका कारण राति गाउँमा आएर बास बस्नेभन्दा धेरै विहानै आउनेको संख्या अत्याधिक रहेको छ । भक्तजनले आफ्नो क्षमताअनुसार बोका, परेवा र नरिवल लिएर बलि दिन आउने चलन समेत रहेको छ ।

म्याग्दीको सदरमुकाम बेनीबाट शुक्रबार विहान मोटरसाइकलमा आफूले चाहेको पूरा गर्ने विश्वासका साथ नाङ्गी बराहनी माताको दर्शन गर्न पुगेका सरोज थापाले सडक सञ्जाल राम्रो भए डेढ घण्टामै मन्दिरमा आउन सकिने बताए । मगर पुजारी रहेको नाङ्गी बराहनी माता मन्दिरमा बोका, परेवा, नरिवल मात्रै चढ्ने गरेको छ ।

यसैबीच अन्नपूर्ण गाउँपालिकाकै वडा नं ५ शिख पाउद्वारस्थित खयरबराह मन्दिरमा समेत मन्दिर नजिकै रहेको तालमा पुगेर चिच्चाएर आफ्नो इच्छाअनुसार माग्ने गरेका छन् । यहाँ हरेक वर्ष जनैपूर्णिमाको दिन पूजा हुन्छ । म्याग्दीका साथै विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा मन्दिरमा दर्शन गर्न भक्तजन पुगेका छन् ।

मन्दिरमा भाकल पुरा भएका तथा मनोकामना पुरा हुने विश्वासका साथ हिमालको फेदीमा अवस्थित अनकन्टार स्थानमा भेडाको साँडेको बथानसँग पुगेका भक्तजन र अन्य भक्तजनहरुले मन्दिर नजिकै रहेको तालमा पुगेर चिच्चाएर आफ्नो इच्छा अनुसार माग्ने गरेका छन्। यहाँ हरेक वर्ष जनैपूर्णिमाको दिन पुजा हुन्छ। म्याग्दीका साथै विभिन्न जिल्लाबाट ठुलो संख्यामा मन्दिरमा दर्शन गर्न भक्तजनहरू पुगेका छन्।
समुन्द्री सतहबाट ४ हजार ८ सय मिटर उचाईमा निलगिरि हिमालको फेदमा अवस्थित मन्दिर नजिक रहेको निलो तालमा करिब दुई दिनको पैदलयात्रापछि पुगेका भक्तजनहरुले सबैले सुन्ने गरी आफ्नो भाकल माग्ने गरेका छन्। मन्दिर नजिक रहेको तालभित्र रहेका आफ्नो भाकल पुजारीलाई जानकारी गराएपछि पुजारीले चर्को स्वरमा भक्तजनको नाम र उसले मागेको बर माग्छन्।
बर लिएपछि कसैसँग नबोलेर धोतीखोला सम्ममन्दिरतर्फ नहेरी जानुपर्ने परम्परा समेत रहेको छ। आफ्नो मनकामना पुरा भएपछि पुनःमन्दिरमा दर्शन गर्न जानेको संख्या समेत अत्याधिक रहेको छ। खरय भरानीमन्दिर तथाआसपासका ४ वटा मन्दिरमा पुजाआजा गर्न युवाहरु पुजारीका रुपमा खटिन्छन्।

पटक–पटक मागे अनुसार पुरा भएको भन्दै बृद्धबृद्धाले समेत साँडे लिएर मन्दिरमा जाने गर्दछन्। बलीका लागि खयर क्षेत्रमा करिव दुई हजार भन्दा धेरै साँडे पालिएको छ। मन्दिरमा दर्शन गर्नका लागि अन्नपूर्णको पाउद्धार सहित विभिन्न स्थानबाट भक्तजनहरु दुई दिन अगाडी नै मन्दिर आसपासका क्षेत्रमा पुगेर बस्ने गरेका छन्।
उक्त क्षेत्रमा पूर्वाधार विस्तारमा निजी क्षेत्रबाट संरचना बनाइएपछि सहज भएको छ। खयर क्षेत्रमा स्वदेश तथा विदेशमा रहेका म्याग्देलीले लाखौंको पूर्वाधार विस्तार गरेका छन्। पदमार्गदेखि शौचालय, आवास लगायतका पूर्वाधारले सहज भएको छ। मन्दिरमा दर्शन गर्नका लागि जाने भक्तजन बिरामी भएपछि खोप्रा आसपासका क्षेत्रबाट लेक लागेर केहीबिच बाटोबाटै फर्कने गरेका छन्।











