---Advertisement---

सावधान ! ‘केवाईसी अपडेट’को बहानामा बैंक ग्राहकलाई ठगी गर्ने प्रयास

On: September 3, 2026 2:02 PM
Follow Us:

म्याग्दीमा राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई फोन गरी ‘केवाईसी अपडेट’ गर्नुपर्ने भन्दै व्यक्तिगत तथा बैंकिङ विवरण माग्ने गिरोह सक्रिय भएको छ। ग्राहकलाई मोवाइल नम्बरबाट फोन गरी राष्ट्रिय परिचयपत्रको विवरण अपडेट गर्नुपर्यो भन्दै फोन गर्ने गरेको ग्राहकले गुनासो गरेका छन् । एक गिरोहले फरक फरक नम्बरबाट खाताको विवरणका बारेमा केन्द्रिय कार्यालयबाट फोन गरेको भन्दै फोन गरी ओटीपी माग्ने, स्क्रिन सेयर गर्न लगाउने गरेको पीडितको भनाई छ ।


नेपाल पत्रकार महासंघ म्याग्दीका सहसचिव प्रताप बानियाँ, सदस्य राकेश शर्माले फोन गरेर खाताको अपडेटका लागि लिंक पठाएको भन्दै ठगी गर्ने प्रयास गरेको बताए । ठगीमा संलग्न गिरोहले फिसिङ लिंक पठाएर क्लिक गर्न लगाउनेजस्ता गतिविधि गरिरहेको गुनासो आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले बेनीअनलाइनलाई बताए ।‘बैकबाट फोन गरेको भन्दौम विश्वास नगर्नुहोला,बैंकले ब्यक्तिगत विवरणहरु माग्दैन,बैंकबाट फोन गरेको भरमा गोप्य विवरण नदिनुहोला’ प्रहरी निरिक्षक तिमिल्सनाले भने।


यता राष्ट्रि«य वाणिज्य बैंक बेनी शाखाकी प्रबन्धक कमला कार्कीले कुनै पनि कर्मचारी वा आधिकारिक प्रतिनिधिले केवाईसी अपडेट वा अन्य कुनै प्रयोजनका लागि फोन, इमेल, सामाजिक सञ्जाल वा अन्य माध्यमबाट एटीएम पिन, मोबाइल बैंकिङ तथा ई–बैंकिङको ओटीपी, इमेल पासवर्ड वा अन्य गोप्य व्यक्तिगत विवरण कहिल्यै नमाग्ने स्पष्ट पारिन् । उनले बैंकको नाम लिएर फोन गरेमा विवरण उपलब्ध नगराई पहिला शाखा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिन् ।

फोन, इमेल वा सामाजिक सञ्जालमार्फत आउने सन्देशमा विश्वास नगर्न र कुनै पनि शंकास्पद गतिविधि देखिएमा नजिकको शाखा वा बैंकका आधिकारिक सम्पर्क नम्बरमा मात्र जानकारी गराउन बैंकले ग्राहकलाई बैंकले अनुरोध गरेको छ ।

जिल्लामा रहेका बैंक तथा वित्तिय संस्थाहरुका ग्राहकले ठगिएपछि मात्रै बैंकमा जाने गरेकाले अनुसन्धान र गिरोहको पहिचान गर्न समस्या भएको बताइएको छ । साइबर ठगीविरुद्ध सचेत र सजग रहन वित्तिय संस्थाको सचेतनामुलक अभियान समेत फितलो देखिएको छ । जिल्लामा सचेतनामुलक अभियानलाई तिब्रता दिन सकेमा न्यूनिकरणमा समेत सहज हुने जानकारहरु बताउँछन् ।

Leave a Comment