हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तिर्थस्थल वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नंं १ मा अवस्थित मुक्तिनाथ मन्दिरमा तिर्थालुलाई लक्षित गरी भौतिक संरचना थप गर्न मुक्तिनाथ विकास समितिलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पुरातत्व विभागले अनुमति दिएको छ ।
मन्दिरमा दर्शनका लागि आउने तिर्थालुलाई लक्षित गरी भौतिक संरचना थप गर्न मुक्तिनाथ विकास समितिले पुरातत्व विभागसँग अनुमति मागेकोमा १०८ धाराको उचाई बढाउन, स्नान गर्नु अगाडि र स्नान गरिसकेपछि कपडा परिवर्तन गर्ने कोठा, महिला, पुरूष शौचालय, शिवालय मन्दिरको जिर्णद्धार र र्तिथालु प्रवेश गर्ने र बाहिरिने प्रवेशद्धारसहितको मार्ग बनाउने प्रस्ताव स्वीकृत भएको ब्यवस्थापन समितिका कोषाध्यक्ष प्रमेश गुरूङले बताउनुभयो ।
वारागुङ मुक्तिक्षेत्रका प्रबक्ता एवम् वडा नं १ का अध्यक्ष रहनुभएका गुरूङले तिर्थालुलाई अति आवश्यक मानिएका पूर्वाधार निर्माण तथा मर्मतका लागि पुरातत्व विभागले अनुमति दिएपछि अब विस्तृत परियोजना प्रतिबेदन (डिपिआर) तयार गरी काम अगाडी बढाउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘‘मन्दिर प्रवेशद्वारदेखि पूजाआजा गरी फर्किने स्थानसम्म पूराना संरचनाका कारण तिर्थालुुलाई निकै समस्या हुने गरेको थियो, अब बन्ने पूर्वाधारल धेरै सहज हुन्छ ।’’

पुरातत्व विभागले स्वीकृत गरेको पूर्वाधार बनाउन करिब ६ करोड लाग्ने अनुमान गरिएको छ । समितिले जमिनमाथि र जमिनमुनि रहेका ऐतिहासिक संरचनाहरूमा कुनै असर नगर्ने तथा पुरातात्विक र ऐतिहासिक महत्वको समेत परिवर्तन हुन नदिने गरी संरचना थप गर्ने समितिका कार्यालय प्रमुख दिनेश भुषालले जानकारी दिनुभयो । पुरातत्व विभागको अनुमति विना कुनैपनि संरचना थप्न नपाइने भएपछि लामो समयसम्म ताकेता गरिएको थियो ।
समुन्द्रि सतहदेखि ३ हजार ६१० मीटरको उचाईमा अवस्थित मन्दिरमा दर्शन, पूजापाठ र स्नान गरेमा भित्री मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । संसारको जुनकुनै स्थानमा भएपनि एकपटक मुक्तिनाथको दर्शन र त्यहाँका १०८ धारा र जलकुण्डमा नुहाउँदा मोक्ष प्राप्ति हुन्छ ।
हिन्दु धर्मग्रन्थ अनुसार मुक्ति प्राप्तिका लागि उहिल्यै ब्रह्माले मुक्तिनाथमा योगरुप यज्ञ गरेको इतिहास छ भने बौद्धमार्गी अनुसार तिब्वतबाट बौद्धमार्गि पण्डित कैलाश पर्वत दर्शन गर्न गएको र कैलाशको जल लिएर मुक्तिनाथमा सञ्चय गरी १०८ धारा बनाइएको धार्मिक ग्रन्थमा उल्लेख छ । मन्दिरमा नेपाली तथा विदेशी तिर्थालु र तेस्रो मुलुकबाट आउने पर्यटक गरी बार्षिक करिब ८ लाखले दर्शन गर्ने गरेका छन् ।











