म्याग्दीको बेनी नगरपालिका–२, दारिमपाँटामा एक बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । सोमबार विहान साढे ११ बजे स्थानीय ७२ बर्षिया मनकुमारी घिमिरेको घरेलु हतियारको प्रयोग गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। मृतक घिमिरेको टाउको, शरीरका विभिन्न भागमा चोट लागेको छ ।
घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सागर तिमिल्सिनाको नेतृत्वमा प्रहरीको टोली घटनास्थलमा पुगेको स्थानीयले बताएका छन् ।
हत्यामा संलग्न भएको आशंकामा मृतक घिमिरेका नाता पार्ने एक यूवालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको भएपनि प्रहरीले नाम सार्वजनिक गरेको छैन । ‘हामी घटनास्थलमै छौ, थप अनुसन्धान भइरहेको छ, हत्यामा संलग्नको सम्पूर्ण विवरण अनुसन्धान सकिएपछि सार्वजनिक गछौ’ प्रहरी निरीक्षक तिमिल्सिनाले भन्नुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।









