विश्वमै प्रख्यात म्याग्दीको टिमुर र अदुवा प्रशोधन केन्द्र निर्माणका लागि जापानले म्याग्दीमा ४३ हजार १७५ अमेरिकी डलर अनुदान उपलब्ध गराउने भएको छ। सोमबार आज काठमाडौंस्थित जापानी दूतावासमा नेपालका लागि जापानका राजदूत माएदा तोरु र लाइभलिहुड एजुकेसन एन्ड डेभलपमेन्ट सोसाइटी नेपाल (लिड्स् नेपाल) का कार्यकारी निर्देशक पदमराज श्रेष्ठले अनुदान सम्झौतामा हस्ताक्षर गरेका छन्।
यो परियोजना जापान सरकारको ग्रासरुट परियोजनाका लागि अनुदान सहायता (जीजीपी) अन्तर्गत सञ्चालन हुनेछ। यसका लागि जापान सरकारले ४३ हजार १७५ अमेरिकी डलर अनुदान उपलब्ध गराउनेछ। यसबाट ६ सय महिला किसान लाभान्वित हुनेछन्। लिड्स् नेपालले यस क्षेत्रमा स्थानीय समुदायलाई सहयोग गर्दै ग्रामीण जनजीवन सुधार गर्न सक्रिय रूपमा काम गर्दै आएको छ। म्याग्दी उच्च गुणस्तरको टिमुर र अदुवा उत्पादनका लागि परिचित छ। यी उत्पादन स्थानीय किसानका लागि आम्दानीका महत्वपूर्ण स्रोत हुन्।
यस परियोजनाअन्तर्गत प्रशोधन केन्द्रको निर्माण तथा स्तरोन्नति गर्नुका साथै आधुनिक उपकरणहरू जडान गरिनेछ। यी सुधारबाट प्रशोधन कार्यको दक्षता र उत्पादनको गुणस्तर बढ्ने अपेक्षा गरिएको छ। यसले किसानहरूलाई बढी मूल्यका उत्पादन तयार गर्न, आफ्नो आम्दानी बढाउन तथा जीविकोपार्जनलाई थप सुदृढ बनाउन सहयोग गर्नेछ। जापानी दूतावासले यो पहलले म्याग्दीमा दिगो ग्रामीण विकास र महिलाको आर्थिक सशक्तीकरणमा योगदान पु¥याउने विश्वास व्यक्त गरेको छ । म्याग्दीमा उत्पादन हुने टिमुर विश्वभर बिक्री हुने गरेको छ । युरोपसँगै जापान, दक्षिण कोरिया, अमेरिका, बेलायतमा रहेका नेपाली रेस्टुरेन्ट र डिपार्टमेन्टल स्टोरबाट समेत टिमुरको माग आउन थालेको छ। हिमाली क्षेत्रमा पनि टिमुरको माग उच्च छ। विशेष गरी लेक लाग्नबाट बच्न टिम्बुर खाने गरिन्छ। यो समाचार देशसञ्चार डटकमबाट सभार गरिएको हो ।










