एभरेष्ट आर्चरी क्लब यूकेको अध्यक्षमा म्याग्दीका बिल पुर्जा पुन मगर चयन भएका छन् । गत शनिबार ५ सेप्टेम्बरमा बेलायतको फार्नबोरोस्थित कोडी बोमेन स्पोट्र्स एन्ड सोसियल क्लबमा सम्पन्न क्लबको पाँचौँ अधिवेशनले धौलागिरी नौमति बाजा समुह यूकेका अध्यक्ष समेत रहेका पूर्जा मगरको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
कार्यसमिति उपाध्यक्षमा याम शेरचन, सचिवमा हर्क पाइजा, सहसचिवमा आकाश गौचन, कोषाध्यक्षमा ओम पुन र सहकोषाध्यक्षमा ली पुर्जा चयन भएका छन् त्यस्तै, कार्यसमिति सदस्यहरूमा बाघवीर पुन, विकास हिराचन र तेजिन लामा रहेको अध्यक्ष पूर्जा मगरले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

युकेमा निकै लोकप्रिय रहेको एभरेष्ट आर्चरी क्लब यूकेले नेपाली समुदायबीच आर्चरी खेलको विकास, खेलाडी उत्पादन तथा खेलप्रतिको आकर्षण बढाउन प्रतियोगितासहित विभिन्न कार्यक्रम गर्ने गरेको छ । नवनिर्वाचित अध्यक्ष पूर्जा मगरले नेपालको मौलिक आर्चरीको समुन्द्रपारीका देशमा समेत संरक्षणसहितका कार्यहरुलाई थप सक्रिय हुने बताए ।

उनले क्लबको संस्थागत विकाससँगै नेपाली आर्चरी खेलाडीहरूलाई थप प्रोत्साहन गर्न सबै पक्षबाट सहयोगको अपेक्षा गरिएको बताए। यूकेसँगै नेपालमा समेत विभिन्न आर्चरी प्रतियोगितामा क्लवले सहयोग गर्ने गरेको छ ।













