---Advertisement---

घरायसी विवादमा नातिले गरे ७२ वर्षीया हजुरआमाको हत्या

On: September 7, 2026 5:39 PM
Follow Us:

हरिकृष्ण गौतम
म्याग्दीको बेनी नगरपालिका–२, खबरा निवासी ७२ वर्षीया मनकुमारी घिमिरेको हत्यामा संलग्न नाति अमेरिकाबाट डिपोर्ट भएको पाइएको छ । जनैपूर्णिमाको दिन मामाघर आएका अन्नपूर्ण गाउँपालिका–६, घारका २६ वर्षीय आशिष बरूवाल अमेरिकामा काम गर्ने रेष्टुरेन्टमा आगजनीमा दोषी भेटिएपछि तीनबर्ष जेलमा बसेर डिपोट गरिएको प्रारम्भीक अनुसन्धमा खुलेको छ ।


जिल्ला प्रहरी कार्यालय म्याग्दीले सोमबार अपहन आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक राजन कार्कीले सन् २०२१ म अमेरिका गएका अभियुक्त बरूवालले सामान्य घरायसी विवादमा माइतकी हजुरआमाको हत्या गरेको बताउनुभयो ।

‘विहान घर जाने कुरामा विवाद भएको देखिन्छ, आमा घर लैजान आउनुभएको थियो, हजुरआमाले भान्सामा काम गरिरहेको अवस्थामा पछाडीबाट प्रहार गरेको देखिन्छ’ प्रनाउ कार्कीले भन्नुभयो । अभियुक्त बरूवालको गतिविधि हेर्दा मानसिक रुपमा समान्य नदेखिएको समेत प्रनाउ कार्कीको भनाई छ ।


धारिलो हतियार प्रहार गरी हत्या गरेपछि भाग्दै गरेको अवस्थामा प्रहरीले लभ्लीहिल आसपासबाट पक्राउ गरेको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताउनुभयो । अभियुक्त बरूवालको शरीरमा रगत लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनाको प्रारम्भीक अनुसन्धानमा लेनदेन विवादका साथै अमेरिकामा रहेका आफन्तसँग समेत राम्रो सम्बन्ध नरहेको देखिएको छ ।

घटनामा संलग्न बरुवाललाई थप अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी कर्तब्य ज्यानसम्बन्धि मुद्धामा अनुसन्धान गर्नेछ । घटनापछि खबराको दारिमपाँटा शोकमा डुबेको छ । घटनामा प्रहरी निरीक्षक तिमिल्सिनाको नेतृत्वमा १५ जनाको प्रहरी टोली परिचालन गरी अनुसन्धान गरिएको थियो ।

Leave a Comment