---Advertisement---

जेन-जी शहीदको सम्झनामा बेनीमा दीप प्रज्वलन (तस्वीरहरु)

On: September 8, 2026 9:58 PM
Follow Us:

जेन–जी आन्दोलन भएको एक वर्ष पूरा भएको अवसरमा मंगलबार म्याग्दीको सदरमुकाम बेनीबजारमा दीप प्रज्वलन गरिएको छ। जेन–जी समुह म्याग्दी र सामाजिक एवम् मानवीय सेवामा सक्रिय साहाराको आयोजनामा बिरेन्द्रचोकमा दीप प्रज्वलन गरिएको थियो।

आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झना तथा घाइतेहरूको सम्मानमा आयोजित कार्यक्रममा बालबालिकादेखि बृद्धबृद्धासम्मको सहभागिता रहेको थियो।सरकारले भदौ २३ गतेलाई ‘जेन–जी शहीद दिवस’का रूपमा मनाउने निर्णय गरेअनुसार देशभर मंगलबार विभिन्न स्मृति तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो। यस अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ।


गत वर्ष भदौ २३ गते सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचार, बेथिति तथा सुशासनको अभावलगायतका विषय उठाउँदै जेन–जी पुस्ताका युवाहरूले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरतर्फ प्रदर्शन गरेका थिए।

प्रदर्शनका क्रममा सुरक्षा निकाय र आन्दोलनकारीबीच झडप हुँदा ठूलो मानवीय क्षति भएको थियो। भदौ २४ गते आन्दोलन थप उग्र बनेपछि देशका विभिन्न स्थानमा हिंसात्मक घटना, आगजनी तथा तोडफोडका घटना भएका थिए। त्यसपछिका घटनाले तत्कालीन राजनीतिक परिस्थितिमा समेत ठूलो परिवर्तन ल्याएको थियो।

दीप प्रज्वलन कार्यक्रममा सहभागी शहीद परिवार तथा घाइतेहरूले आन्दोलनमा ज्यान गुमाएका तथा घाइते भएकाहरूको योगदानको सम्मान गर्दै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र आन्दोलनका क्रममा उठाइएका माग सम्बोधन भने कार्यान्वनकै चरणमा रहेको छ ।

Leave a Comment