---Advertisement---

कैलास–मानसरोवर यात्राका लागि कोरला नाका विकल्प

On: September 9, 2026 10:06 AM
Follow Us:

रसुवा नाका भोटेकोशी नदीमा आएको बाढीले तहसनहस बनाएसँगै चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको कैलास–मानसरोवर यात्राका लागि कोरला नाका विकल्प बनेको छ । नेपाली तथा विदेशी तीर्थयात्रीलाई कालीगण्डकी कोरिडोर अन्तर्गत पोखरा–बेनी–जोमसोम हुँदै कोरला नाका सुरक्षित, सहज र तुलनात्मक रूपमा छोटो तथा कम खर्चिलो हुन थालेको छ । 

कोरला नाका तीर्थयात्री तथा पर्यटकका लागि समेत खुला गर्न मुस्ताङवासीले अनुरोध गरेका छन् । हिन्दु, बौद्ध, जैन समुदायका धर्मालम्बीहरूको पवित्र तीर्थस्थल तिब्बतको न्गारी प्रान्तमा रहेको कैलास मानसरोवरको दर्शनका लागि उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिकास्थित नेचुङमा रहेको अध्यागमन कार्यालयलाई तत्काल नियमित सञ्चालन गर्नुपर्ने गाउँपालिका अध्यक्ष टसी न्हुर्बु गुरुङले बताउनुभयो । 

अध्यक्ष गुरुङले भन्नुभयो, “रसुवागढी–केरुङको सहज विकल्प नै कोरला नाका हो । यो नाकामा सहज आवतजावत गर्ने वातावरण बनाउनु पर्छ, यसमा अब ढिलाइ गर्नु हुँदैन ।” अध्यक्ष गुरुङले कोरला नाकाबाट आर्थिकसँगै कैलास–मानसरोवर दर्शनका लागि समेत चीन सरकारसँग तत्काल आवश्यक पहल गर्न सकेमा धार्मिक पर्यटनका लागि समेत कोरला उत्कृष्ट गन्तव्य बन्ने बताउनुभयो । 

नेपालस्थित चिनियाँ दूतावासबाट कैलास–मानसरोवर दर्शनका लागि सहज प्रक्रियासहित भिजिट भिसा तथा अध्यागमनका लागि चाहिने आवश्यक कागजात भएमा कोरला नाकाबाट नेपाली तथा विदेशी समूहमा तिब्बती भूभागमा प्रवेश गर्न सक्ने उहाँले बताउनुभयो ।

कोरला नाकाबाट चिनियाँ भूभागमा रहेको बजारमा अहिले पास भएका मुस्ताङीले मात्रै आवतजावत गर्न पाउँछन् । गत वर्ष ल्होमन्थाङ गाउँपालिकका अध्यक्ष गुरुङको नेतृत्वमा १३ जना जनप्रतिनिधिको टोली कोरलाबाट तिब्बत भ्रमण गरेर फर्किएको थियो । हाल छोसेरमा रहेको अध्यागमन कार्यालयमा एक जना कम्प्युटर सहायक मात्रै कार्यरत छन् भने पूर्वाधार र जनशक्तिको अभाव रहेको छ ।  

Leave a Comment