---Advertisement---

उपल्लो मुस्ताङमा दुई पटक भूकम्पको धक्का महसुस

On: September 9, 2026 10:11 AM
Follow Us:

उपल्लो मुस्ताङमा लगातार दुई पटक भूकम्पको धक्का महसुस भएको छ। मङ्गलबार राति ९ः५३ बजे पहिलोपटक भूकम्पको धक्का महसुस गरिएकोमा बुधबार बिहान १ः०५ बजे पुनः भूकम्प गएपछि स्थानीयले घरबाहिर खुला चौरमा रात बिताएका छन्।

भूकम्पविद् डा. शिव सुवेदीले नेपालको उपल्लो मुस्ताङ र चीनको तिब्बतको सीमा क्षेत्रमा केन्द्रबिन्दु बनाएर चार रेक्टरभन्दा ठुलो भूकम्प मापन गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘चार रेक्टरभन्दा ठुला भूकम्पले केन्द्रबिन्दु आसपासका क्षेत्रमा धक्का महसुस हुन्छ र पटक–पटक जान सक्छ। त्यसैले सतर्कता अपनाउनुपर्छ।’’

भूकम्पविद् डा. सुवेदीले भूकम्पको केन्द्रबिन्दु आसपासका क्षेत्रका बासिन्दाले सुरक्षित रूपमा खुला स्थानमा बस्दा राम्रो हुने बताउनुभयो।

भूकम्पको धक्का महसुस भएपछि स्थानीय तथा पर्यटकसमेत होटलबाट बाहिर निस्किएको लोमन्थाङ गाउँपालिका अध्यक्ष टसीनुर्वु गुरुङले बताउनुभयो। अध्यक्ष गुरुङले भन्नुभयो, ‘‘राति दुईपटक ठूलो धक्का दिएको छ। गोरखा भूकम्पपछि पहिलोपटक ठुलो धक्का महसुस गरियो।’’

भूकम्पको धक्का छिमेकी जिल्ला म्याग्दी र पर्वत आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक ईश्वर महतले भूकम्पपछिको अवस्था सामान्य भए पनि क्षतिको विवरण प्राप्त नभएको बताउनुभयो।

यसैबिच, राष्ट्रिय भूकम्प मापन केन्द्रले यो पराकम्पन हो वा नयाँ भूकम्प भन्नेबारे हालसम्म आधिकारिक जानकारी दिएको छैन।

करिब तीन दशकयता साविक धौलागिरि अञ्चलमा गएको सबैभन्दा ठुलो भूकम्प बागलुङको बोवाङलाई केन्द्रविन्दु बनाएर गएको ४.९ रेक्टरको भूकम्प हो। म्याग्दी र बागलुङमा पटक–पटक चार रेक्टरभन्दा ठुलो भूकम्प जाने गरेको छ। केन्द्रमा चार रेक्टरभन्दा माथिका भूकम्प मात्रै मापन हुने गरेको छ।

Leave a Comment