---Advertisement---

१० दिन दाजु खोज्दै हिँडे, रित्तो हात गाउँ फर्किए

On: September 9, 2026 9:26 PM
Follow Us:

बाढीले बेपत्ता बनाएको दाजुको खोजीमा बागलुङको तमानखोला गाउँपालिकाका जगबहादुर छन्त्यालले घरदेखि रसुवाको धुन्चेसम्म १० दिन बिताए। नुवाकोटको उद्धारस्थलदेखि सेनाको ब्यारेक, धुन्चे र अपरत्रिशूली हाइड्रोपावर नजिकसम्म पुगे पनि उनले दाजुको कुनै अत्तोपत्तो पाएनन्।

काठमाडौं पुगेपछि उनले राजधानीका विभिन्न अस्पताल चहारे। घाइते अवस्थामा कतै उपचार भइरहेको हुनसक्ने आशामा अस्पतालका बेडसम्म पुगेर खोजे। चार दिन धुन्चेमै बसेर उद्धारको अवस्था नियाले। तर हरेक ठाउँबाट निराशा मात्रै हात लाग्यो।

‘अब सरकारले खोजी गरेर सत्यतथ्य पत्ता लगाई हामीलाई खबर गरोस् भनेर हिँडियो,’ उनी गाउँ फर्किँदै गर्दा भन्दै थिए।

गत भदौ १० गते भोटेकोसीमा आएको भीषण बाढीका बेला अपरत्रिशूली हाइड्रोपावर–२१६ मेगावाट आयोजनाको सुरुङभित्र काम गरिरहेका छन्त्यालका दाजु बेपत्ता भएका हुन्। घटना भएको १२ दिन बितिसक्दा पनि उनको अवस्था अज्ञात छ।

जगबहादुरको गुनासो खोजीमा ढिलाइ भएकोप्रति छ। समयमै सुरुङभित्र उद्धार सुरु गरिएको भए केही कामदारलाई जीवितै निकाल्न सकिने उनको विश्वास छ। ‘सरकारले सुरुङभित्रको खोजी कार्यलाई बेवास्ता गर्‍यो। ढिला हुँदा धेरै कुरा बिग्रियो,’ उनले भने।

उनीजस्तै तमानखोलाकै तारानाथ श्रीपाली पनि भाइ भीमबहादुर विकको खोजीमा १० दिनसम्म भौँतारिए। धुन्चे, त्रिशूली, काठमाडौं र चितवनका अस्पतालसम्म पुगे। पावर चाइनाको कार्यालयमा समेत पुगेर जानकारी लिए। तर भाइको कुनै खबर नपाएपछि उनी पनि सोमबार साँझ गाउँ फर्किए।

‘कतै घाइते भएर बसेको छ कि भनेर सबै अस्पतालका बेडमा पुगेर हेरेँ, कतै भेटिएन,’ उनले भने।

समय बित्दै जाँदा परिवारको आशा पनि कमजोर बन्दै गएको छ। सुरुङभित्र काम गर्न गएका आफन्तको अवस्था थाहा नहुँदा गाउँ फर्किएका परिवारसँग अब एउटै प्रश्न छ—उनीहरू कहाँ छन्?

‘खोज्न गएका मान्छेसँग घरका आफन्तलाई दिने जवाफ छैन। परिवार पाल्ने उही हो, उसका छोराछोरी पढ्दैछन्,’ श्रीपालीले भने।

घटनापछि तमानखोलाबाट गाउँपालिका अध्यक्ष जोकलाल बुढासहित २५ जना आफन्त र स्थानीय खोजीका लागि त्रिशूली र रसुवा पुगेका थिए। अध्यक्ष बुढा पनि घटनास्थलनजिकदेखि विभिन्न सरकारी निकायसम्म पुगेर बेपत्ता गाउँलेको खोजीका लागि पहल गरेपछि सोमबार गाउँ फर्किएका छन्।

अध्यक्ष बुढाका अनुसार तमानखोलाका मात्रै नौ जना कामदार सुरुङभित्र काम गर्ने क्रममा बेपत्ता भएका छन्। बागलुङका विभिन्न पालिकाबाट गरी १६ जना सुरुङमै बेपत्ता भएको उनले बताए।

उनका अनुसार निर्माणाधीन सुरुङबाट उद्धार गर्न आवश्यक उपकरणको अभाव र कठिन भौगोलिक अवस्थाका कारण उद्धार प्रभावित भएको छ। ‘सरकारले उद्धार गर्छु भने पनि सुरुङ अप्ठेरो ठाउँमा छ। अर्कोतिर सरकारसँग निर्माणाधीन सुरुङबाट उद्धार गर्ने उपकरण छैन,’ उनले भने।

अपरत्रिशूली–१ र अपरत्रिशूली आयोजनामा गरी एक हजार ४ सय ३३ जना कामदार रहेकामा ८ सय ७६ जनाको उद्धार भइसकेको र ५ सय ५७ जना अझै बेपत्ता रहेको जनाइएको छ।

अहिले बेपत्ता कामदारका परिवारको एउटै माग छ—उनीहरू जीवित छन् वा छैनन् भन्ने यथार्थ सरकारले छिटो सार्वजनिक गरोस्। लामो पर्खाइले परिवारलाई खोजीभन्दा पनि अनिश्चितताको पीडा थपिरहेको छ।

Leave a Comment