---Advertisement---

दुई महिनामा उठ्यो तीन अर्बभन्दा बढी राजस्व

On: September 20, 2026 10:07 PM
Follow Us:

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयमा दुई महिनामा तीन अर्बभन्दा बढी राजस्व संकलन भएको छ । 

भोटेकोशी नदीमा गत महिनाको भदौ १० गते आएको बाढीका कारण रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार कार्यालय बगाएपछि तिब्बत हुदै लिजी–नेचुङ (कोरला) नाकाबाट चालु आर्थिक बर्ष २०८३–८४ साउन महिनामा २६ करोड ३९ लाख रुपियाँ राजस्व संकलन भएकोमा भदौ महिनामा बढेर २ अर्ब ८१ करोड ५४ लाख रुपियाँ पुगेको छ । 

दुई महिनाको अवधिमा विद्युतीय सवारीसाधन, घरायसी सामान, कस्मेटिक, विद्युतीय उपकरणसहित कपडा, जुत्तालगायत चाडपर्वलाई लक्षित गरी बोकेका कन्टेनरबाट ३ अर्ब ७ करोड ९३ लाख रुपियाँ राजस्व संकलन गर्न सफल भएको राजस्व उठाउन सफल भएको भन्सार कार्यालय प्रमुख बिदुर चुडालले बताउनुभयो । 

चीनबाट भदौ महिनामा विद्युतीय सवारीसाधन (इभी) आयात उल्लेखनीय रुपमा बृद्धि भएको छ । साउन महिनामा एकसय वटा इभी आयात भएकोमा भदौमा बढेर १ हजार २ सय २३ वटा पुगेको छ । 

साउन महिनामा मालबाहक कन्टेनर ५७ वटा रहेकोमा भदौमा ६ सय ९७ वटा भित्रिएको भन्सार कार्यालय प्रमुख चुडालले बताउनुभयो । विद्युतीय सवारीसाधनबाट मात्र २ अर्ब ११ करोड ३० लाख रुपियाँ राजस्व संकलन भएको छ । 

भन्सार प्रमुख चुडालले भन्नुभयो, ‘‘उत्तरीका अन्य नाका बन्द भएपछि भन्सार कार्यालयमा अत्यधिक चाप छ, अहिले नेपाली ब्यवसायीलाई चाडपर्व लक्षित सामान भित्र्याउन भ्याइनभ्याइ छ ।’’ 

यो दुई महिनाको अवधिमा भन्सार कार्यालयमा पैठारीले छलाङ मार्दा निकासी भने भएको छैन । भन्सार सेवालाई प्रभावकारी बनाउने दरबन्दी थपसहित अन्य पूर्वाधार विस्तारमा समेत नेपाल सरकारले चासो देखाइरहेको छ । कोरलाको दसगजा क्षेत्रमा विद्युतीय सवारी साधनसहित अन्य मालबाहक कन्टेनरहरूको भिड रहेको छ ।

कोरला नाकाबाट करिब १४ किलोमिटर तल रहेको भन्सार कार्यालयमा ल्याएर जाँचपासपछि एकसय ८६ किलोमिटर दूरीको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकखण्ड हुँदै पोखरा लैजाने गरिन्छ । 

कोरला नाकामा ब्यापार गर्न तथा सामान ढुवानीका लागि मजदुर, चालक र स्थानीय ब्यापारीको समेत चहलपहल बढ्न थालेको छ । समुन्द्री सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरोला नाका सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि रोकिएकोमा वि.स २०८० कात्तिक २७ देखि औपचारिक उदघाटन भएको थियो । 

यसैबीच बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले म्याग्दीको गलेश्वरदेखि मुस्ताङको लेते सेतोखोला क्षेत्रमा यसअघि ठेक्काबाट हटाइएको पहिरो प्रभावित क्षेत्रमा बाँकी रहेको कामलाई तिब्रता दिएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो । 

दैनिक कन्टेरन र विद्युतीय सवारीसाधनको जामका कारण सडक अस्तब्यस्त हुन थालेपछि जोखिमयुक्त र सवारीसाधन आवत–जावत प्रभावित क्षेत्रमा पहिरो नियन्त्रणसँगै सडक स्तरोन्नतिका लागि प्राविधिक अध्ययन भइरहेको आयोजनाले जनाएको छ ।  

Leave a Comment