म्याग्दीमा सातौँ अर्थुङ्गे कप फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।युवालाई खेलकुदतर्फ आकर्षित गर्दै समाज र राष्ट्रको आधारशिलाका रूपमा विकास गर्ने उद्देश्यले बेनी नगरपालिका–६, अर्थुङ्गेमा रहेको अर्थुङ्गे युवा क्लबले १७ र १८ असोजमा फुटसल प्रतियोगिता आयोजना तय गरेपनि बाढीपहिरोका कारण म्याग्दीमा राहत तथा उद्धारका कार्यमा सघाउने गरी आगामी असोज २३ र २४ गते हुने भएको छ । बेनी फुटसल शिक्षामार्गमा हुने प्रतियोगिता ५ ए साइड फुटसल स्वरूपमा हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने क्लव अध्यक्ष विबेक बानियाँ क्षेत्रीले बताउनुभयो । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई जनही ५ हजार तथा अनुशासित टिमलाई ७ हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी हुन दर्ता शुल्क ५ हजार र धरौटी १ हजार तोकिएको छ ।
प्रतियोगितालाई व्यवस्थित र मर्यादित बनाउन खेलका क्रममा लाग्ने पहेंलो कार्ड तथा रातो कार्डसम्बन्धी नियमसमेत लागू गरिने छ । क्लवले बाढीपहिरोका कारण बेनीबजार तथा आसपासका क्षेत्रमा खानेपानीको अभाव झल्दै आएकालाई निशुल्क वितरण समेत गर्ने गरेको छ । गाउँमा सामाजिक एवम् मानवीय सेवामा समेत सक्रिय रहेको क्लवले विगतमा समेत प्रतियोगिता सहित रचनात्मक कार्य गर्ने गरेको थियो ।









