यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढीपहिरोले म्याग्दीका करिब ५५० घरपरिवार प्रभावित भएका छन्।
एक सय ११ घरमा पूर्ण, ९३ मा आंशिक क्षति र ३४२ घर जोखिममा परेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार सबैभन्दा बढी अन्नपूर्ण गाउँपालिकामा ४५ घर पूर्ण, १२ घरमा आंशिक क्षति र १८३ घर जोखिममा परेका छन्।
बेनी नगरपालिकामा ३० घरमा पूर्ण, १४ मा आंशिक र ४५ घर जोखिममा परेका छन्। मङ्गला गाउँपालिकामा २३ घरमा पूर्ण, ३२ मा आंशिक क्षति र ३५ घर जोखिममा परेका सहायक प्रजिअ आचार्यले बताए।
यसैगरी, रघुगङ्गा गाउँपालिकामा छ घर पूर्ण, २७ आंशिक र ५३ घर जोखिममा परेका छन्। मालिका गाउँपालिकामा तीन घरमा पूर्ण, एकमा आंशिक क्षति र तीन घर जोखिममा परेका छन्। धवलागिरि गाउँपालिकामा चार घरमा पूर्ण, सातमा आंशिक क्षति र २३ घर जोखिममा परेका छन्। ५६ गोठ भत्किएर, पुरिएर क्षति पुग्दा २० पशुचौपाया मरेका छन्।
अन्नपूर्ण गाउँपालिकाको गिवाङ, पाउद्धार, किन्दु, घिरवाङका ११५ जना पहिरो प्रभावितलाई उद्धार गरेर शिख र घारको अस्थायी शिविरमा राखिएको छ। विस्थापितहरुलाई सडक यातायात अवरुद्ध भएकाले बेनीदेखि हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी गरेर उपलब्ध गराइएको छ।
अन्नपूर्ण गाउँपालिकामा पाँच र मालिका गाउँपालिकामा दुई जनाको पहिरोमा परी मृत्यु भएको छ। बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा एकएक जना बेपत्ता भएका छन्।
पहिरोले सडक, खानेपानी, नदी नियन्त्रण, विद्यालय भवन, सार्वजनिक भवन, पदमार्ग, सिँचाइ, कृषि, पशुपक्षी लगायत क्षेत्रमा पुगेको क्षतिको विवरण सङ्कलन भइरहेको छ। पूर्ण विवरण सङ्कलन हुदाँसम्म क्षतिको सङ्ख्या बढ्ने प्रशासनको भनाइ छ।










