---Advertisement---

म्याग्दीका २६ जोखिमयुक्त क्षेत्रमा भूगर्भविद्को स्थलगत अध्ययन

On: October 5, 2026 11:09 AM
Follow Us:

हरिकृष्ण गौतम

अविरल वर्षसँगै आएको बाढीपहिरोले असर गरेपछि म्याग्दीका विभिन्न २६ बाढी पहिरोग्रस्त क्षेत्रमा भूगर्भविद्सहितको प्राविधिक टोलीले अध्ययन गरेका छन् । गत असोज ८ देखि १२ गतेसम्म परेको अबिरल बर्षाका कारण बाढीपहिरोग्रस्त क्षेत्रमा पुगेर दीर्घकालीन समाधान र जोखिम न्यूनीकरणका लागि भूगर्भविद्हरूको टोलीले वैज्ञानिक अध्ययन गरिएको थियो ।


नेपाल भौगर्भिक समाजले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सहकार्य र साहरा समुहको समन्वयमा म्याग्दीका २६ जोखिमयुक्त क्षेत्रमा भौगर्भिक अध्ययन सम्पन्न भएको छ भने थप क्षेत्रमा नयाँ कार्यतालिका बनाएर गरिने छ । अध्ययन बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाका विभिन्न जोखिमयुक्त बस्ती तथा क्षेत्रमा गरिएको हो। बेनी नगरपालिकाका २२ र रघुगंगा गाउँपालिकाका चार स्थानमा भौगर्भिक जोखिमको अध्ययन गरिएको नेपाल भौगर्भिक समाजका भूगर्भविद् एवं त्रिचन्द्र बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डा.चम्पकबाबु सिलवालले बताए ।


पहिरोको अवस्था र माटोको बनोटको सटिक आकलन गर्न सर्भेको इक्विपमेन्ट, ड्रोनबाट तस्बिर लिनुका साथै पहिरो खसेको स्थानबाट ढुङ्गा तथा माटोका नमुना संकलन गरी वैज्ञानिक अध्ययन अघि बढाइने उनले बताए । पहिलो चरणमा अध्ययन गर्न नेपाल भौगर्भिक समाजका अध्यक्ष भाष्कर खतिवडाको नेतृत्वमा आएको चारजनाको विज्ञ टोलीमा जिल्लामा कार्यरत इन्जिनियरसहित प्राविधिक टोलीसहित स्थानीय ड्रोनको प्रयोग समेत गरिएको थियो ।


नेपाल भौगर्भिक समाजको नेतृत्वमा समाजका अध्यक्ष भास्कर खतिवडासहितको प्राविधिक टोलीले शनिबारदेखि पहिरोग्रस्त क्षेत्रमा विस्तृत स्थलगत अध्ययन गरिएको बेनी नगरपालिकाका मेयर सुरत केसीले बताए । अध्ययन टोलीले मानवीय त्रुटीका कारण हुने जोखिमका बारेमा समेत जानकारी गराउने भएकाले तत्काल ब्यवस्थापनमा समेत काम गरिने बताए ।

भूगर्भविद्को टोलीले स्थलगत अध्ययन तथा संकलित नमुनाको विश्लेषण गरी सरकारलाई प्राविधिक प्रतिवेदन बुझाउनेछ। सोही प्रतिवेदन र सुझावका आधारमा बेनी नगरपालिका तथा सम्बन्धित निकायले पहिरो नियन्त्रण र बजारवासीको सुरक्षाका लागि दीर्घकालीन उपाय तय गर्ने प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए ।


करिब तीन सय मिटर उचाइ र पाँच सय मिटर चौडाइ क्षेत्रफल खरबारीको माथिल्लो भाग एक मिटरभन्दा तल दबेको र बीच भागमा धेरै ठाउँमा चिराचिरा परेर धाँजा फाटेकाले जोखिम रहेको अवस्था अध्ययनले केही राहतको महसुस भएको बेनी नगरपालिका–८ खोरियाका बासिन्दा निशा सुवेदीले बताइन् ।

पाखोमा चिरा परेपछि रुखहरू लडेका कारण जमिन दवेको भएपनि कालिगण्डकी नदीको बाहबको कुनै सम्बन्ध नरहेको नेपाल भौगर्भिक समाजका अध्यक्ष भास्कर खतिवडाले बताए । टोलीले बेनपाको भस्भसे, खवरा, लभ्लीहिल पाखा, हाडेभिर, तल्लो मुसुङ, चिनाखेत, भुकभुके, छेपारे, तातोपानी–सिंगा, आँखेबगर, अर्थुंङे–अंधेरी गैह्रा, जम्रेली, जमुनाखर्क, महारानीस्थान, भ्याउनी खोला, बराह पाखो, प्रकाश माविको पाखा, खरेनी पाखा, जलेश्वर, गलेश्वर, तोरीपानी र माटे बिसौनामा अध्ययन गरेको थियो । त्यसैगरी रघुगंगा गाउँपालिकाका हर्खर्क–धाइखर्क, बर्खर्क, माझखर्क र कल्लेनीमा अध्ययन गरिएको समाजले जनाएको छ।


भूगर्भविद्, इन्जिनियर तथा ड्रोन अपरेटरसहितको १२ सदस्यीय विज्ञ टोलीले स्थलगत अध्ययन तथा जोखिमको अवस्थाबारे जानकारी संकलन गरेको थियो। अध्ययन टोलीमा भूगर्भविद् भास्कर खतिवडा, डा. चम्पक बाबु सिलवाल, दिपक गौतम, रुपक ज्ञवाली, जानकी खत्री र मिरा जिसी तथा इन्जिनियर माधव देवकोटा, सुमन सुवेदी र विजय नारायण मण्डल सहभागी थिए।

समाजका अनुसार विज्ञ टोलीबाट प्राप्त अध्ययन प्रतिवेदन छिट्टै सम्बन्धित निकायमा उपलब्ध गराउने छ । प्रतिवेदनका आधारमा जोखिम न्यूनीकरण, सुरक्षित बस्ती व्यवस्थापन तथा आवश्यक पूर्वतयारीका लागि थप योजना बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। नेपाल भौगर्भिक समाजले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयलाई सतर्क र सुरक्षित रहन अनुरोध समेत गरेको छ ।

Leave a Comment