हरिकृष्ण गौतम
बेनी–जोमसोम–कोरला सडकखण्डअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ सिरुबारी कुनौटामा सडकमार्गबाट इन्धन ढुवानी गर्न कठिन भएपछि नेपाली सेनाको प्राविधिक सहयोगमा ड्रोनमार्फत ४ सय लिटर इन्धन पठाइएको छ । गत असोज ८ गतेदेखि ११ गतेसम्म अबिरल बर्षासँगै कालिगण्डकी नदीले सडक कटान गरेपछि कुनौटा–बेगखोला खण्डलाई सिधा जोड्न ९० केजीसम्म भारवहन क्षमताको ड्रोनबाट ढुवानी गरिएको आयोजना प्रमुख तेजस्वी शर्माले बेनीअनलाइनलाई बताउनुभयो ।
‘यो सबैभन्दा जोखिम खण्ड हो, सडकको बेस नै कालिगण्डकीको कटानसँगै बगेको छ, मंगलबार बेलुकीसम्म यहाँको काम सक्छौ’’ आयोजना प्रमुख शर्माले भन्नुभयो । सडकखण्ड अन्तरगत पैदल हिड्न डोरीको सहायताले जोखिम मोल्नुपर्ने अवस्थामा डिजेल ढुवानीका लागि सजिलो विधि प्रयोग गरिएको हो’ प्रमुख शर्माले भन्नुभयो । करिब एकघण्टाको अवधिमा ४ सय लिटर डिलेर पार गरी नेपाली सेनाको सहयोगमा पोखरेबगरस्थित पक्की पुल भएको स्थानमा लगिएको थियो ।

अविरल वर्षा, बाढीपहिरोका कारण सडकका विभिन्न स्थानमा अवरोध हटाइएकाले अब इन्धन ढुवानीमा समस्या नहुने आयोजना प्रमुख शर्माको भनाई छ । सवारीसाधनमार्फत आवश्यक इन्धन ढुवानी गर्न समस्या भइरहेको अवस्थामा पहिलो पटक ड्रोनको प्रयोग गरिएको छ । ड्रोनमार्फत इन्धन ढुवानी गरिएको इन्धन पोखरेबगर पुगिसकेको छ ।

जिल्ला समन्वय समितिकी कार्यवाहक प्रमुख दिलकुमारी खत्रीले सडकबाट ढुवानी गर्न नसकिने वा तत्काल आवश्यक पर्ने सामग्रीलाई ड्रोनमार्फत निश्चित स्थानसम्म पु¥याउन सकिने भएकाले जिल्लाका अन्य क्षेत्रमा समस्या भएका समेत यो प्रविधिलाई प्रयोग गर्न सकिने बताउनुभयो । जिल्लामा बाढीपहिरो प्रभावित क्षेत्रसहित सडक, पुल तथा यातायात सम्पर्क पूर्णरूपमा विच्छेद भएका दुर्गम क्षेत्रमा औषधि, खाद्यान्न, इन्धनलगायत अत्यावश्यक सामग्री आपूर्तिका लागि ड्रोन प्रयोग गर्ने गरिएको छ ।

उक्त ड्रोनको निर्देशन तथा प्राविधिक सहयोगका लागिश्री गुरु गोरख गुल्मका मेजर राकेश बस्नेत सहितको टोलीको उपस्थिती रहेको थियो । बेनी–जोमसोम–कोरला सडकखण्डका विभिन्न स्थानमा बाढीपहिरो र नदी कटानका कारण सडक क्षतिग्रस्त भएपछि नियमित यातायात सञ्चालनमा समस्या भइरहेको अवस्थामा अबको एक साताभित्र सवारीसाधन एकतर्फी रुपमा सञ्चालन गर्न सकिने गरी काम भइरहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेको भनाई छ ।











