मंगलबार साँझ बाढीले क्षति पु¥याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल अवलोकन गर्न पुग्नुभएको नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र प्रसाद ढकालले बागलुङको पर्यटन र आयात निर्यातका लागि पुल छिट्टै सञ्चालनमा ल्याउनुपर्ने बताउनुहुन्छ ।
उहाँले पुलबाट अलग रहेको बागलुङले बैकल्पिक मार्गको विकास र पर्यटक र यात्रुलाई जानकारी दिन आवश्यक रहेको बताउनुहुन्छ । “राष्ट्रिय महत्वको रुपमा मालढुङ्गा पुल रहेको छ, उक्त पुल दशैं अघि सञ्चालनमा आउनुपर्छ, कामको प्रगति रामै भइरहेको देखे तर पुल अभावमा बागलुङलाई चलायमान बनाउन म्याग्दी भएर आउने र फलेवास भएर आउने सडकको प्रचार गर्न आवश्यक छ” ढकालले भन्नुभयो “बैकल्पिक मार्गबाट समेत पर्यटक भित्राउन र आयात निर्यात गर्न सकेमा चाडवाडको समयमा पर्यटन व्यवसाय फष्टाउन सक्छ ।”
ढकालले सडक सञ्जालको पहुँच, प्रचार प्रसार, थपिदै गएका पर्यटन पूर्वाधारका कारण पर्यटन क्षेत्रको विकासमा बागलुङ, म्याग्दी र मुस्ताङले फड्को मारेको बताउदै मुख्य व्यापार हुँने र चहलपहल हुँने समयमा तत्कालै पुल मर्मत तथा मुस्ताङ सम्मको सडक सञ्जाल सञ्चालनमा ल्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
मालढुङ्गाको मोटरेवल पुल एउटा पुल मात्रै थिएन बागलुङलाई राष्ट्रिय राजमार्गमा जोड्ने सेतु थियो । भारत र चीनलाई जोड्ने कालीगण्डकी करिडोर होस या पहाडलाई छिचोलेको मध्यहाडी लोकमार्ग होस यसै पुललाई संगमस्थलको रुपमा मानेर अघि बढ्दथे ।
लोकमार्ग पुल भएर बागलुङ अघि बढ्छ भने करिडोर बागलुङ हुँदै पुल भएर पर्वत हुँदै म्याग्दी–मुस्ताङ कोरला पुग्छ । हो त्यही राष्ट्रिय महत्वको मालढुङ्गा पुलको पहुँचमार्ग कालीगण्डकीले क्षति पु¥याउदा आवागमन ठप्प भएको छ । बागलुङ सदरमुकाम जोड्ने मुख्य लाईफाईनको रुपमा मानिएको मालढुङ्गा पुलमा असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पु¥याउदा पर्वत खण्डको पहुँचमार्ग बगाएको छ ।
सडक डिभिजन कार्यालय पोखराले पुल दशैं अघि सञ्चालनमा ल्याउने तयारीका साथ दु्रत गतिमा पुनःनिर्माणको काम गरिरहेको छ भने बैकल्पिक मार्गको प्रयोग गर्ने व्यवस्था मिलाएको छ ।
हिन्दुहरुको ठूलो चाड बडा दशैं र त्यसपछिका पर्यटकीय गतिविधिलाई लक्षित गरी मालढुङ्गा पुलको बिकल्पमा मालढुङ्गा–बेनी हुँदै बागलुङ र पर्वतको फलेवास–जैमिनीघाट हुँदै बागलुुङ प्रयोग भइरहेको सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरी सुवेदीले बताउनुभयो ।
बागलुङ आउने मुख्य नाकाको रुपमा रहेको मालढुङ्गा पुल ठप्प भएपछि यात्रु बैकल्पिक मार्गको प्रयोगका लागि सूचित गरिएको सुवेदीले बताउनुभयो । “बैकल्पिक मार्गमार्फत सामाग्री ढुवानी तथा यात्रुहरु आउजाउ गर्नुभएको छ तर बाढी पहिरोका कारण उक्त सडकहरु समेत सहज छैनन्” सुवेदीले भन्नुभयो “दशैं अघिनै मालढुङ्गाको पुल सञ्चालनमा आउछ, बागलुङ सहित रुकुम पश्चिम सम्मका यात्रुले सहज यात्रा गर्न सक्नेछन् ।”
पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत र बागलुङ जोड्ने कालीगण्डकी माथिको मालढुङ्गा मोटरेबल पुल मर्मत कार्य तीव्र गतिमा अघि बढेको सडक डिभिजन कार्यालय पोखराका इन्जिनियर अमर अधिकारीले जानकारी दिनुभयो ।
कालीगण्डकीमा आएको बाढीले भत्काएको पुलको पहुँचमार्ग जियोब्याग र जियोग्रेड प्रविधिमा २४ सै घण्टा काम गतीव्र गतिमा मर्मत गरिएको अधिकारीको भनाई छ । ११४ मिटर लामो पुलको पहुँचमार्गको झण्डै ३० मिटर सडकमा क्षति पुगेपछि १० दिनदेखि दुई जिल्लाबीचको सम्पर्क विच्छेद बनेको छ भने मध्यपहाडी लोकमार्ग हँँदै बागलुङ, रुकुम, रोल्पाको सम्पर्क सुत्रसमेत टुटेको छ । सडक डिभिजन कार्यालय पोखराले दिउँसो र राति दुवै समयमा मजदुर परिचालन गरी पुल मर्मत कार्य गरिरहेको जनाएको छ ।
डिभिजन प्रमुख कृष्णराज अधिकारीले चाडवाडसमेत नजिकिँदै गएको तथा बागलुङमा खाद्यान्न, ग्यासलगायत उपभोग्य सामानको अभावसमेत देखिन थालेकाले २४सै घण्टा काम गरेर भए पनि छिटो पुल सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिनुभयो । बागलुङका पर्यटन व्यवसायी अर्जुन चोखालका अनुसार बागलुङ बजारमा ग्यास, पेट्रोलियम पदार्थ र खाद्यन्न बैकल्पिक मार्गबाट नियमित आयात भइरहेको बताउनुभयो । उहाँले बैकल्पिक मार्गको प्रयोगको विषयमा यात्रुलाई जानकारी दिइएको बताउनुभयो । पर्यटकहरुलाई समेत बैकल्पिक मार्गको पयोग गरेर बागलुङ आउने विषयमा जानकारी गराउदै आइएको उहाँको भनाई छ ।
खेमराज गाैतम















