हरिकृष्ण गौतम
म्याग्दीको मंगला गाउँपालिका–५ छिस्वाङ खहरेका बिरबहादुर पुनले साढे ६ रोपनी जमिनमा लगाएको मार्सी धान बाढीले नामोनिसान नरहने गरी पुरिदिएको छ। १४ जना परिवारका सदस्यलाई वर्षभरि खान पुग्ने धान उत्पादन हुने खेत नै बाढीले बगाएपछि अहिले खेत हेर्दै टोलाइरहेको अवस्थामा भेटिन्छ ।
केही दिनअघिसम्म लहलह धान झुलेर पहेँलपुर बनेको बिरबहादुरको खेत अहिले बाढीले पुरेर र बगाएर बगरमा परिणत भएको छ ।खेतीका लागि अब करिब तीन रोपनी बाँझो जमिनबाहेक उनीसँग अर्को जमिन छैन । गाउँमा मार्सी धान फलाउने कृषकको परिचय पाएका बिरबहादुर मात्र होइन छिस्वाङकै पूर्णबहादुर पुनको पशुचौपाया राख्ने गोठसहित तीन रोपनी धानखेत बाढीले बगाएको छ।

वर्षभरि परिवार पाल्ने मुख्य आधारका रूपमा रहेको खेतीयोग्य जमिन गुमेपछि उनी पनि अब गुजार्ने भन्ने चिन्तामा छन्। पूर्णबहादुरसँग अब अन्न फलाउने एक इन्च जमिन पनि छैन ।‘वर्षभरि खाने अन्न फल्ने खेत नै रहेन। धान काटेर घर भित्राउने बेला खेत नै बाढीले लग्यो’ उनले भने । खहरेखोलामाथि खसेको पहिरोले छिस्वाङमा कर्णबहादुर पुन, तुलप्रसाद पुन,दिलबहादुर पुन, ओमबहादुर पुन, मनिराज पुनलगायत करिब ३५ स्थानीयको करिब डेढ सय रोपनी धानखेत बाढीले क्षति पु¥याएको छ ।

अन्नबालीका लागि प्रख्यात छिस्वाङ क्षेत्रमा खेतीयोग्य जमिन खोलाको बगर जस्तै भएपछि बगरलाई पन्छाएर खेती गर्न चुनौति भएपनि सरकारी निकायबाट सहयोग लिएर भएपनि खेतबारीलाई पूरानै अवस्थामा फर्काउने कृषक पुर्णप्रसाद पुनले बताए । धानको बालाले खेत ढाकिनुपर्ने समयमा बगर र ढुंगामाटो देखिन थालेपछि स्थानीय निराश छन् ।

पुर्खाले छोडेको जग्गाजमिनमा श्रम, लगानी र आशा केही घण्टामै बाढीले बगाएको मंगला–५ का वडाध्यक्ष भुपेन्द्रबहादुर क्षेत्रीले बताए । उनले मुख्य खाद्यबालीमा बाढीले ठूलो क्षति पुगेको बताए। उनका अनुसार बाढीबाट प्रभावित अधिकांश किसानको खेत कटान भएको छ। ‘धान भित्राउने समयमै बाढी आएर खेत नै बगाएपछि किसान ठूलो पीडामा छन्,क्षतिको विवरण संकलन गरी प्रभावित किसानलाई राहत उपलब्ध गराउन वडा कार्यालयमार्फत आवश्यक प्रक्रिया अघि बढाइएको छ’ वडाध्यक्ष क्षेत्रीले भने ।
बाढीले धानबालीमा पु¥याएको क्षतिका लागि तत्काल राहतको व्यवस्थाका लागि समेत पहल भइरहेको वडाध्यक्ष क्षेत्रीले बताए।
यही असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षापछि आएको बाढीपहिरोले म्याग्दीका विभिन्न स्थानीय तहमा ठूलो क्षति पु¥याएको छ। बेनी नगरपालिका तथा मंगला, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका खेतीयोग्य जमिनमा समेत बाढीपहिरोको असर परेको कृषि विकास कार्यालय म्याग्दीले जनाएको छ। कार्यालय प्रमुख सञ्जीब बाँस्तोला जिल्लाभरबाट क्षतीको विवरण संकलनको काम भइरहेको बताए ।

खेतीयोग्य जमिनमा पुगेको क्षतिका कारण यस वर्ष जिल्लाको धान उत्पादन घट्ने प्रारम्भिक आकलन गरिएको छ । जिल्लामा गतबर्ष तीन हजार ८०६ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकामा गत वर्ष प्रतिहेक्टर तीन दशमलव ५९ मेट्रिकटनका दरले १३ हजार ६६३ मेट्रिकटन धान उत्पादन भएको थियो ।
जिल्लामा गौरीया, गुडुरा, जेठो बुडो, जर्नेली, पहेँले, मार्सी, शङ्कर, युएस–३१२ लगायत जातका धानखेती मुख्य बाली मानिन्छ । भिरालो जमिनमा पनि गर्न सक्ने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धानखेती गरेका जमिन अहिले चिराचिरा परेको छ । जिल्लाको धौलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ र अन्नपूर्णको शिख, राम्चेमा चिसोका कारण धान उत्पादन नहुने भएपनि जिल्लाका अन्य स्थानमा धानखेती हुन्छ ।














