म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा सभाहलसहितको तीनतले सुविधासम्पन्न वडा कार्यालय भवन उद्घाटन भएको छ। गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले आइतबार नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो। रघुगंगा गाउँपालिकाको एक करोड ४० लाख रुपैयाँ र स्थानीयवासीको साढे ६ लाख रुपैयाँ लागतमा भवन निर्माण गरिएको हो।

तीनतले भवनमा नौवटा कोठा, सभाहल, स्तनपान कक्ष र घेराबारको व्यवस्था गरिएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलका अनुसार भवनबाट वडा कार्यालयका नियमित सेवाका अतिरिक्त कृषि, पशु, प्राविधिक तथा मेलमिलापसम्बन्धी सेवा प्रदान गरिनेछ। भवनमा वडा अध्यक्षको कार्यकक्ष, शौचालयसहित पार्किकस्थल समेत रहेको छ ।

भवन उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भण्डारीले वडावासीलाई आवश्यक सेवा वडा कार्यालयबाटै उपलब्ध गराउने उद्देश्यले भवन निर्माण गरिएको बताउनुभयो। ‘तत्काल समाधान गर्न सकिने समस्याका लागि गाउँपालिकाको केन्द्र धाउनुपर्ने अवस्थाको अन्त्य गरेका छौँ’ उहाँले भन्नुभयो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी पुन, प्रवक्ता एवं वडा नं. ६ का अध्यक्ष मनकुमार शेरपुञ्जा, वडा नं. ५ का अध्यक्ष मनबहादुर शेरपुञ्जा र वडा अध्यक्ष अमृत भण्डारीले भौतिक संरचनासँगै जनशक्ति व्यवस्थापन र प्रभावकारी सेवा प्रवाहमा जोड दिनुभयो।

एनआरएनए यूकेका पूर्वअध्यक्ष योगकुमार फगामीले बाढीपहिरोबाट क्षतिग्रस्त सडक तथा पुलको मर्मत र आपतकालीन अवस्थामा बिरामी परेका तथा प्राकृतिक विपत्तीका कारणले समस्या भएका वडाबासीलाई सहयोग गर्ने उद्देश्यले एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो।

बेगखोला समाज पोखराका अध्यक्ष यमकुमार पुर्जा र बेगखोला महिला समाज पोखराकी टीका पुर्जाले मन्तब्य राख्दै आफ्नो जन्मगाउँमा आवश्यकता परेको समयमा सधै सहयोग गर्न तयार रहेको बताउनुभयो । भवन निर्माणका लागि २.५ आना जग्गा उपलब्ध गराउने हितमान फगामी तथा डेढ लाख आर्थिक सहयोग गर्ने गिरीप्रसाद गर्बुजा, धनबहादुर गर्बुजा, मिनकुमार गर्बुजा, यामकुमार पुर्जा र लालकुमारी पुर्जालगायतलाई सम्मान गरिएको थियो।

स्वर्गीय श्रीमान् मनबहादुर गर्बुजा र स्वर्गीय छोरी झकुमारी गर्बुजाको स्मृतिमा एक लाख एघार हजार एक सय एघार रुपैयाँ सहयोग गर्ने धनमायाँ पुन लगायत सहयोगदातालाई सम्मान गरिएको थियो । भवन निर्माणमा योगदान पु¥याउने स्थानीयवासी तथा कर्मचारीलाई दोसल्ला र कदरपत्र प्रदान गरिएको थियो। वडा अध्यक्ष बिलबहादुर फगामीको अध्यक्षता, वडा सदस्य सोमिता पुनको स्वागत र वडा सचिव कविता श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्थानीयले नृत्य, नौमती बाजा, पुख्र्यौली नृत्य तथा गीत प्रस्तुत गरेका थिए।














