मालिका गाउँपालिकाको केन्द्र दरवाङमा केन्द्रीय कार्यालय रहेको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारणसभाबाट संस्थाको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ । आइतबार बेनी नगरपालिका–४, तातोपानीमा सम्पन्न अधिवेशनले कृष्णप्रसाद आचार्यको अध्यक्षतामा नयाँ सञ्चालक समिति तथा लोकनाथ रेग्मीको संयोजकत्वमा लेखा तथा सुपरिवेक्षण समिति सर्वसम्मत निर्वाचित गरेको हो ।
अध्यक्ष आचार्यलाइ बधाइका साथ माला लगाउँदै निवर्तमान अध्यक्ष भीमप्रसाद गौतम निर्वाचन नीतिको दफा १७ बमोजिम सार्वजनिक गरिएको अन्तिम परिणाम अनुसार संस्थाको उपाध्यक्षमा लेकबहादुर पुन, सचिवमा श्रीराम पौड्याल र कोषाध्यक्षमा दामोदर शर्मा निर्वाचित भएका हुन् । त्यसैगरी, सञ्चालक समितिको सदस्यहरूमा मायादेवी शर्मा, प्रेमलाल पौडेल, दीर्घबहादुर के.सी., दिलबहादुर बरुवाल र दीलनाथ पौडेल सर्वसम्मत रूपमा चयन भएका हुन् ।
संस्थाको वित्तीय पारदर्शिता र आन्तरिक सुशासनलाई मजबुत बनाउनका लागि आवश्यक पर्ने लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा लोकनाथ रेग्मी तथा सदस्यहरूमा शंकरजय मल्ल र श्रीकृष्ण रिजाल रहेका छन् ।
निर्वाचन अधिकृत दिवाकर सुवेदी तथा निर्वाचन समिति सदस्य नगेन्द्र क्षेत्रीद्वारा जारी गरिएको परिणाम मुचुल्का अनुसार अधिवेशनमा उपस्थित सम्पूर्ण शेयरधनीहरूबीचको आपसी सहमति र सर्वसम्मतिबाट नयाँ सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिको घोषणा गरिएको हो । नवनिर्वाचित नेतृत्वले संस्थाको हित, शेयरधनीहरूको बचतको सुरक्षा, पारदर्शी वित्तीय कारोबार तथा सहकारीको सेवालाई थप सर्वसुलभ र प्रविधिमैत्री बनाउने प्रतिबद्धता अध्यक्ष आचार्यले व्यक्त गरेका छन् ।











