म्याग्दीको बेनी नगरपालिका–८, गणेशटोलकी अस्मिता श्रेष्ठलाई चाडपर्वमा सेलरोटी बनाउन भ्याइनभ्याइ छ । दशैंलाई बेनीबजार र ग्रामिण क्षेत्रबाट मात्रै होइन विदेशमा रहेका आफन्तले समेत कोशेली लैजाने प्रसस्तै अर्डर गरेपछि विहानदेखि साँझसम्म सेल रोटीसहित अन्य चाडपर्वमा प्रयोग हुने परिकार बनाउन ब्यस्त हुनुहुन्छ ।
सेल रोटी बनाएर चाडपर्व, मेला–महोत्सवमा बिक्री गर्ने गर्नुभएकी श्रेष्ठलाई अहिले कोशेलीका लागि म्याग्दी बाहेक विभिन्न जिल्लाबाट समेत अर्डर आउने गरेको छ भने विदेशमा रहेकाले घरपरिवार र आफन्तलाई समेत कोशेली पठाउन सामाजिक सञ्जालमार्फत अर्डर गर्ने गरेका छन् ।

उद्यमी श्रेष्ठले चाडपर्वमा माग अनुसार ग्राहकलाई पुर्याउन नसकेको बताउनुहुन्छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगको महिला उद्यम विकास समितिकी कार्यसमिति सदस्य समेत रहनुभएकी श्रेष्ठले सेलरोटीसहित अन्य परिकार बनाउन थालेको धेरै बर्ष भएको छ । बि.स २०६१ सालमा घरायसी र आफन्तलाई कोशेरी लैजाने गरी सेल रोटी बनाउन सिक्नुभएकी श्रेष्ठले अहिले चाडपर्वको सिजनमा मनग्य आम्दानी गर्नुहुन्छ ।

‘एक पटक अर्डर गर्नुभएका ग्राहकहरू फेरी लैजान आउने धेरै हुनुहुन्छ, गुणस्तरीय रोटीका लागि बजारको समस्या छैन्,ग्राहकहरूले सेलरोटी मनपराउन थालेपछि मैले पनि नियमित बनाउने गरेको छु’ श्रेष्ठले बेनीअनलाइनलाई भन्नुभयो ।दसैँमा भन्दा तिहारमा सेलरोटीको माग धेरै आउने भएकाले परिवारका सदस्यहरुको पनि सहयोग लिने गरेको श्रेष्ठको भनाई छ । सेल रोटीसँगै फिनीरोटी लगायत अन्य चाडपर्व लक्षित परिकार बनाउने, विवाहमा साइपाटाका लागि पनि तयार गर्ने गरेको उहाँले बताउनुभयो । ब्यवसाय भन्दा पनि ग्राहकको सन्तुष्टीलाई आधार बनाएर गुणस्तरीय तेलको प्रयोग गर्ने गरेको श्रेष्ठको भनाई छ ।

‘कहीलेकाही पकाउँदा पकाउँदै कुरेर रोटी लाने गर्छन्, रोटी बनाउन नजान्नेहरुलाई सिकाउने र माग अनुसार बिक्रीसँगै केही ठाउँमा पुगेर सामुहिक तालिम समेत दिएको छु’ श्रेष्ठले भन्नुभयो । यसबर्ष चाडपर्वमा पहिलाजस्तो अर्डर नआएपनि माग अनुसार पुर्याउन विहानैदेखि रोटी बनाउने गर्नुभएको छ ।
म्याग्दीमा सेल रोटीसहितका परिकार बनाएर उद्यमीले रहरलाग्दो कमाई गर्ने गरेको महिला उद्यम विकास समितिकी महासचिव प्रमिला जोशी श्रेष्ठले बताउनुभयो । महिलालाई उद्यमी बनाउन समितिले विभिन्न तालिम सञ्चालन गर्ने गरेको छ ।









