सेभ द चिल्ड्रेनद्वारा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका ७५ घरधुरीलाइ अत्यावश्यक गैर–खाद्य (नन–फुड) मानवीय सहायता सामग्री उपलब्ध गराएको छ। विपद्पछि घरबास र दैनिक जीवनका आधारभूत सामग्री गुमाएका परिवारलाई तत्काल राहत पु¥याउने उद्देश्यले साढे २२ लाख बराबरको सहायता वितरण गरेको छ ।

सेभ द चिल्ड्रेनका वरिष्ठ कार्यक्रम संयोजक दिलकमल क्षेत्रीका अनुसार प्रत्येक प्रभावित परिवारलाई करिब ३० हजार रुपैयाँ बराबरको सामग्री उपलब्ध गराइएको छ । वितरण गरिएका सामग्रीमा ब्ल्याङ्केट, म्याट, त्रिपाल, किचेन सेट, सरसफाइ सामग्री र झुल पर्छन्। यसबाहेक महिला, किशोरी तथा बालबालिकाका लागि आवश्यक विशेष सामग्री पनि प्याकेज रहेको बरिष्ठ कार्यक्रम संयोजक क्षेत्रीले बताउनुभयो ।

उक्त सहयोगले घर भत्किएका वा बसोबास गर्न नसकिने अवस्थामा पुगेका परिवारका लागि आश्रय, न्यानोपन, खाना पकाउने र सरसफाइसम्बन्धी आधारभूत सामग्रीले तत्कालको आवश्यकता पूरा गर्ने अपेक्षा गरिएको क्षेत्रीको भनाई छ । सामग्री हस्तान्तरणपछि अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी तिलिजाले संस्थाले उपलब्ध गराएका सामग्री अत्यन्तै गुणस्तरीय र सान्दर्भिक रहेको बताउनुभयो । उहाँका अनुसार बालबालिका, किशोरी तथा महिलाका लागि छुट्टै छनोट गरिएका सामग्री निकै उपयोगी रहेको छ । हिमाली तथा उच्च पहाडी भेगमा चिसो बढी हुने भएकाले ब्ल्याङ्केटले प्रभावित परिवारलाई राहत मिलेको बताउनुभयो ।

बाढी र पहिरोबाट प्रभावित कतिपय घरधुरी हाल होल्डिङ सेन्टरमै बस्न बाध्य छन्। जोखिमको अवस्थालाई हेर्दा केही बस्ती नै सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने आवश्यकता रहेको छ । तत्कालीन राहतले परिवारको आधारभूत आवश्यकता केही हदसम्म पूरा गरे पनि स्थायी आवास, सुरक्षित बस्ती निर्माण र जीविकोपार्जन पुनस्र्थापना अब मुख्य चुनौती बन्ने देखिएको छ । स्थानीय, प्रदेश र संघीय सरकारसँगै मानवीय सहायतामा संलग्न संस्थाबीच समन्वयकारी भूमिकाको अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ ।

सेभ द चिल्ड्रेनद्वारा म्याग्दीले गण्डकी प्रदेशका तीन जिल्ला बागलुङ, पर्वत र म्याग्दीका चार स्थानीय तहका कुल ३३५ प्रभावित परिवारले सहायता सामग्री प्राप्त गरेका छन्।
बागलुङको निसीखोला गाउँपालिकाका ४५ र बडिगाड गाउँपालिकाका ९० घरधुरी, पर्वतको जलजला गाउँपालिकाका सबैभन्दा बढी १२५ घरधुरी तथा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका ७५ घरधुरी रहेको संस्थाले जनाएको छ । तीन जिल्लाका ३३५ परिवारलाई वितरण गरिएको सहायता सामग्रीको कुल मूल्य करिब १ करोड ५० हजार रुपैयाँ पुग्छ।









