---Advertisement---

म्याग्दीमा चाडपर्व लक्षित सुरक्षा योजना लागू, जुवातास नियन्त्रणका लागि प्रहरीको यूनिट परिचालन

On: October 18, 2026 9:30 AM
Follow Us:


हरिकृष्ण गौतम
म्याग्दीमा चाडपर्वको बेला अपराधिक क्रियाकलाप बढ्न सक्ने भन्दै विशेष सुरक्षा योजना लागू गरिएको छ । जिल्ला प्रहरी कार्यालयले दसैँ सुरु भएसँगै जिल्लाको समग्र शान्ति, सुरक्षाको भरपर्दो व्यवस्थापनको साथै कुनै अप्रिय घटना एवम् दुर्घटनारहित मर्यादित चाडपर्वको लक्ष्य राखि सुरक्षा योजना कार्यान्वयन गरिएको प्रहरी निरीक्षक भुपेन्द्र गोतामेले बताए ।

‘यसपटक थप नयाँ योजनाहरू समेत छन्, सहरदेखि ग्रामिण क्षेत्रसम्म कार्यान्वयन हुने गरी सुरक्षा योजना लागु भएको छ’ प्रहरी निरीक्षक गोतामेले भने । भीडभाड, मेलापर्व, सवारीसाधन चेकजाँच सहित मदिरा नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर सुरक्षा सतर्कता बढाएको छ ।


प्रहरीले जुवातास नियन्त्रणका लागि साधा पोशाकामा समेत प्रहरीको टोली परिचालन गरेको छ । प्रहरीले दैनिक आकस्मिक चेकजाँचका लागि २२ यूनिट, २४ घण्टा यात्रु सहायता कक्ष, ट्र«ाफिक चेकजाँच, मोटरसाइकल सहित क्वीक रेस्पोन्स टिम,सीमा क्षेत्रमा नियमित चेकिङ,सादा पोशाकमा प्रहरी परिचालन, सहर तथा ग्रामिण क्षेत्रमा पैदल गस्ती सहित सुरक्षा जोखिम भएका क्षेत्रमा विशेष निगरानी राखिने प्रहरी नायव उपरीक्षक राजन कार्कीले बताए ।


चाडपर्वको समयमा खासगरी नागरिकहरु एक ठाउँबाट अर्को ठाउँमा जाने भएकोले चोरी डकैतीका घटनाहरु हुनसक्ने भन्दै विशेष सर्तकता अपनाउन सचेत समेत गराइएको छ प्रनाउ कार्कीको भनाई छ । ‘कुनै पनि घटनाको जानकारी प्राप्त भएमा तत्कालै टोली परिचालन हुने गरी क्विक रेस्पोन्स टिम (क्यूआरटी) बनाएका छौँ’ प्रनाउ कार्कीले भने । चाडपर्वमा हुने आवागमनलाई सहज बनाउन बसपार्क, सीमा नाकालगायतका ठाउँमा नागरिक सहायता कक्षा स्थापना गरिएको छ ।


‘सभ्य बनौँ, सुरक्षित रहौँ, हर्षोल्लासका साथ चाडपर्व मनाऔँ’ भन्ने सन्देशसहित प्रहरीले सबैलाई आपसी सद्भाव कायम राख्दै जिम्मेवार र सुरक्षित तरिकाले चाडपर्व मनाउन अनुरोध गरेको छ । चाडपर्वका बेला बेनीबजार सहित विभिन्न स्थानमा घर छाडेर बाहिर जाँदा झ्यालढोका राम्रोसँग बन्द गर्न, छिमेकीलाई निगरानीका लागि अनुरोध गर्न तथा घर र टोलको सुरक्षाका लागि सीसीटीभी र आपत्कालीन साइरनजस्ता सुरक्षा उपाय अपनाउन सुझाव दिएको छ।


म्याग्दीका ग्रामिण क्षेत्रमा हुने मेलापर्व तथा भीडभाड हुने स्थानमा गरगहना, मोबाइल र नगद चोरी हुन सक्ने भन्दै आफ्ना सामानको सुरक्षा गर्न र पाकेटमारीबाट जोगिन आग्रह गरेको छ। बजार तथा ग्रामिण क्षेत्रमा चर्को आवाजमा लाउडस्पिकर बजाएर ध्वनि प्रदूषण नगर्न, मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउन तथा क्षमताभन्दा बढी यात्रु र मालसामान नबोक्न पनि सचेत गराइएको छ भने कडा चेकजाँच हुने जनाएको छ ।

चाडपर्वमा सदरमुकाम बेनीबजारमा हुने जुवातासलाई प्रहरीले विभिन्न माध्यमबाट निगरानी गरेको जनाएको छ । कुनै समस्या परेमा नेपाल प्रहरीको सम्पर्क नम्बर १०० र प्रहरी निरीक्षक ९८५७६७५६६६ मा सम्पर्क गर्न सकिने जनाइएको छ।

Leave a Comment